spot_img

अधिकारको लागि संघर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनु प्रधानमन्त्री दाहालकाे अपिल

spot_img

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् । राष्ट्रिय सोनाम ल्होछार–२८६० का अवसरमा शनिबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए ।

’म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस्’, प्रधानमन्त्रीले भने, ’फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।’

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, संघीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गर्दै उनले अहिले संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।

यसअवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै प्रधानमन्त्री दाहालले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिए । उनले भने, ’संघीयतालाई सुदृढ गर्न प्रदेशलाई बलियो बनाउनलाई उच्च प्रथमिकतामा राखिएको छ, मुख्यतः संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐनलगायतका ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’

पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार वीरयोद्धाले बलिदान गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ’क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।’

प्रधानमन्त्री दाहालले अबको संघीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा वाग्मती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गरे । सोनाम ल्होछार पर्व मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने बताए ।

उनले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे । उनले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरे ।

तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको छ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अंगका रुपमा रहेको छ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो ।

नेपालमा मात्र नभई चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनांगे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् ।

सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दर्ज्य गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् ।

महोत्सवका अवसरमा तामाङ समुदायको वेशभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँ भन्दा बढी प्रदर्शनी कक्ष राखिएको थियो । महोत्सवमा कुलागी, लुकुनी, स्यान्थापलगायतका पराम्परागत पोसाकामा सजिएका युवायुवती डम्फू र टुंनाको धुनमा नृत्य प्रस्तुत गरेका थिए ।

काठमाडौँ वरपर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, नुवाकोट, मकवानपुर, रसुवा र धादिङलगायत जिल्लामा बसोबास रहेको तामाङ समुदायको जनसंख्या करिब १८ लाख रहेको बताइएको छ । यस वर्षको सोनाम ल्होछार बिरालो वर्षको बिदाइ र ड्रागनको स्वागत गरेर उक्त समुदायले मनाएको छ । वाग्मती प्रदेशले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरेको छ ।

उक्त अवसरमा प्रधानमन्त्रीलाई तामाङ समुदायले लगाउने टोपी र कोट लगाइदिएर सम्मान गरिएको थियो । समारोहमा प्रधानमन्त्री दाहालले वाग्मती प्रदेशका मन्त्री तीर्थ लामालगायत तामाङ समुदायको विभिन्न विधाका अगुवा व्यक्तित्वलाई सम्मान गर्नुका साथै विश्व कीर्तिमानी मोहन घिसिङलाई सम्मान गरेका थिए । लामा गुरुहरुले मन्त्रोचरण गरी शुभारम्भ भएको समारोहमा चिनियाँ सांस्कृतिक टोलीले ड्रयागन नृत्यसमेत प्रस्तुत गरेको थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img