काठमाडौं,नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए ।
जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५० रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च साझेदारी र उच्च योगफलको कीर्तिमान बनेको छ ।
चिनियाँ टोलीविरुद्ध नेपाली युवा टोलीको ५ गोल
चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनिया छिङ हाई युसुको युवा टोलीलाई ५–१ ले पराजित गरेको हो । नेपालका लागि समिर तामाङले दुई गोल गरे । उनले ३९औं र ३४औं मिनेटमा गोल गरे । यस्तै सञ्जीव विष्टले दोस्रो, छिरिङ लामाले ६३औं र निराजन धामीले ७५ औं मिनेटमा गोल गरे । युथ टोली भएपनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु रहेकोले नेपालले विपक्षीलाई पूर्ण रुपमा दबाबमा राखेको थियो ।
जसमा मनिष डाँगीले नेपालको कप्तानी गरेका थिए । यस्तै राष्ट्रिय टिमका आयुष घलान, छिरिङ लामा, लकेन लिम्बु, उत्सव राई पनि खेलेका थिए । नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यो खेल भएको छ । खेलअघि र हाफ टाइमको बेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसहितको प्रस्तुती समेत देखाइएको थियो ।