काठमाडौँ,सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । तर जनयुद्धको आधार इलाका मानिएको कर्णालीका कतिपय पालिकाहरूले भने अदालतको आदेशको अवज्ञा गर्दै धमाधम बिदा दिने निर्णय गरिरहेको छन् ।
विशेष गरी नेकपा (माओवादी केन्द्र)ले जितेको पालिकाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएका छन् । अहिलेसम्म चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने र उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिसकेमा छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन् । यी पालिकाहरूले सार्वजनिक सुचना नै जारी गरेर जनयुद्ध दिवस मनाउने घोषणा गरेका छन् । बिदा दिने चार मध्ये तीन वटा पालिकाको नेतृत्व माओवादीले गरेको छ भने बाँफिकोटको अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
पचालझरनाले गणतन्त्र स्थापनाको लागि ०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धको स्मरण र सम्मानका लागि बिदा दिने निर्णय भएको उल्लेख गरेको छ । सूचनामा भनिएको छ, ‘उक्त दिन पचालझरना अन्तरगत सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा १ दिन सार्वजनिक बिदा दिने ।’ पचालझरनाको अध्यक्ष रहेका देवबहादुर शाही माओवादीबाट निर्वाचित भएका हुन् ।
मुड्केचुलाको सुचनामा भनिएको छ, ‘संघीय लोकतानित्रक गणतन्त्रको आधारको रूपमा रहेको जनयुद्ध थालनी भएको दिनको सम्झनामा सार्वजपनक बिदा दिइने ।’ माघ १३ गते बसेको २८ औँ गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ र। यो गाउँपालिकाको नेतृत्वमा माओवादीका दत्तबहादुर शाही छन् ।
यस्तै नलगाड नगरपालिकाले माघ २७ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिइएको बताएको छ । नलगाड नगरका मेयर डम्बरबहादुर रावत भन्छन्, ‘सबै काम सर्वोच्चकै मात्र हुँदैन केही त हाम्रो पनि होला नि ! सर्वोच्चबाट सबै कार्यपालिका खारेज गरेर सर्वोच्चलाई जिम्मा दिए भैगो, किन राख्नु कार्यपालिका ।’ आ–आफ्नो अधिकार क्षेत्रभित्र रहेर जनयुद्ध दिवस मनाउने निर्णय गरिएको उनले बताए ।
यसैविच प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताए ।
जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष दाहालले शुभकामना सन्देशमा बताएका छन्.।
“जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ”, शुभकामना सन्देशमा उनले भनेका छन्, “सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ, यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।”
जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलनमा होमिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।
माओवादी अध्यक्षले जनयुद्ध दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गरे। उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा अपिल पनि गरे।