“पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने”
ललितपुर,ललितपुरको महालक्ष्मी नगरपालिकाले फागुन ५ गतेदेखी ७ गतेसम्म महोत्सव आयोजना गर्ने भएको छ । महालक्ष्मी महोत्सवबारे नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर सम्पुर्ण जानकारी दिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख हरिगोबिन्द श्रेष्ठले
“महालक्ष्मी नगरको समृद्धिको आधार, शिक्षा, संस्कृति, उद्योग, पर्यटन र व्यापार“ भन्ने नारासहित ललितपुरको महालक्ष्मी नगरपालिकाले प्रथम महालक्ष्मी महोत्सव–२०८० को आयोजना गर्न लागिएको जानकारी दिए।
नगरपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्धन तथा प्रचारप्रसारमार्फत नगरपालिकाको राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा विशिष्ट पहिचान स्थापित गर्दै नगरक्षेत्रको आर्थिक गतिविधिलाई समेत गतिशील बनाई मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउने उद्देश्यहरु रहेको छन् ।
यस्तै नगर उपप्रमुख लक्ष्मी महर्जनले नगरभित्रका विभिन्न क्षेत्रहरु बोजेपोखरी, सिद्धिपुर, लुभु, लाँकुरीभञ्ज्याङ लगायतका क्षेत्रसहित १० वटै वडालाई समेटेर एकीकृत महालक्ष्मी महोत्सव आयोजना गरिएको बताउनुभयो । नगरको वार्षिक नीति तथा कार्यक्रम अनुसार आयोजना गरिएको महोत्सवमा नगरपालिका भित्रका स्थानीय उत्पादन, रैथाने खानाका परिकार, विभिन्न सांस्कृतिक प्रदर्शनी तथा सम्पदाहरुको अवलोकन, मनोरञ्जनात्मक प्रस्तुतिहरु, राष्ट्रिय कलाकारहरुको विविध प्रस्तुति, पर्यटकीय स्थलहरुको अवलोकन,विशिष्ट व्यक्तित्वहरुको भ्रमण लगायतका विविध कार्यक्रम महोत्सवको अंगका रुपमा रहेको महर्जनले बताएकी छन् ।
आगामी फागुन ५ गते वडा नं ८ लुभु स्थित महालक्ष्मी मन्दिर परिसरमा नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नगरपालिकाले जानकारी दिएको छ । यसैगरी ६ गते वडा नं ६ सिद्धिपुरमा नेवारी संस्कृति तथा अन्य शैक्षिक, उद्योग, स्थानीय उत्पादनको प्रदर्शनी सहित सांस्कृतिक कार्यक्रम रहनेछ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहने उक्त दिन वडा नं ३ को बोजेपोखरीमा डुँगा सयर, फुड फेस्टिभल तथा प्रदर्शनी समेत रहेको छ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको महालक्ष्मी मन्दिरलाई ऐश्वर्य र समृद्धिको देवीको रुपमा मानिने भएकाले नगर पनि ऐश्वर्य र समृद्धिले भरिभराउ होस भन्ने उद्देश्यले नगरपालिकाको नाम महालक्ष्मी नगरपालिका राखिएको हो । नेपाली, नेवारी, तामाङ लगायतका भाषा बोल्ने मानिसहरुको बसोबास रहेको नगरपालिकामा लुभु, महालक्ष्मी मन्दिर, लाँकुरीभन्ज्याङ, शृङ्गिऋषी गुफा, शृङ्गेरी डाँडा, कामधेनु गुफा, अशोक स्तुपा, शान्तिपोखरी, गणेश तथा भैरव मन्दिर, सिद्देश्वर तथा बालकुमारी मन्दिर तथा पोखरीहरुमा बोजेपोखरी, कमलपोखरी, फोङ्गाःपुखु, शान्ती पुखु, बुद्धपोखरी ,न्हु पखः पाँचपोखरी, भैरव कुण्ड, सिंथलीडाँडा पोखरी, लामाडाडापोखरी लगायतका सम्पदाहरु रहेका छन् ।
महोत्सव समापनको दिन ७ गते महालक्ष्मी १० को पर्यटकीय क्षेत्र लाँकुरीभञ्ज्याङमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मनमोहन टावर तथा गणेशमान पार्क, मानेदोभान, तामाङ गुम्बाहरुको अवलोकन तथा दृश्यावलोकनको कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवका लागि नगरपालिकाले ५० लाखको बजेट व्यवस्थापन गरेको छ ।