काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदनबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग छलफल गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मुखै खोलेर मन्त्री ज्वालाको राजीनामा त मागेका छैनन्, तर जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने भन्दै पद छाड्न संकेत गरेका छन् ।
१३ पुसमा दुई युवकको मृत्यु हुने गरी भएको बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा फिल्ड कमाण्डर डीएसपी उमेश लम्साल र निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीसँगै मन्त्री ज्वालाई समेत दोषी किटान गरिएको छ । मन्त्री नगएको भए घटना नहुने समितिको निष्कर्ष छ ।
मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन एकीकृत समाजवादीमा छलफल
एकीकृत समाजवादीमा भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई
सरकारबाट फिर्ता बोलाउने विषयमा छलफल भएको छ। गत १३ पुसमा बालकुमारीमा दुईजनाको ज्यान जाने गरी भएको घटना जाँचबुझ आयोगको प्रतिवेदनले घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको ठहर गरेपछि पार्टीको आज बसेको बैठकमा उनलाई फिर्ता बोलाउने विषयमा एकीकृत समाजवादीमा छलफल भएको हो।
बैठकले आयोगको प्रतिवेदन अध्ययन गरेपछि मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। बैठकमा भएको छलफलबारे जानकारी दिँदै पार्टीका उपाध्यक्ष प्रमेश हमालले पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने जानकारी दिए।
जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीनजनालाई दोषी ठहर गरेपछि उनलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको पनि उनले जानकारी दिए। (रासस)