काठमाडौँ,नेपालको सबै भन्दा जेठो त्रिभुवन विश्वविद्यालय राजनीतिबाट आक्रान्त भई दुरावस्थामा पुगेको आरोप लागिरहँदा सरकारले उपकुलपतिको छनोट प्रक्रियाबाटै त्रिभुवन विश्वविद्यालय सुधार गरेर लैजाने बताइरहेको छ । त्यसैले खुला प्रतिष्पर्धाबाट उपकुलपति चयन गरिने बताए पनि छनोट प्रक्रिया नै प्रश्नहरु उठेका छन् । खुला प्रतिष्पर्धाबाट ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्टलिष्टमा परेका थिए । भ्रष्टाचारमा मुछिएकादेखि बौद्धिक चोरहरुसमेत सर्टलिष्टमा परेको भन्दै संसदीय समितिमा खैलाबैला मच्चिएको थियो । ती मध्येका ३ जना उपकुलपतिका लागि सिफारिस गरिएका छन् । कस्ता ब्यक्तिहरु उपकुलपतिका लागि सिफारिस गरिएका छन् त ?
६० वर्ष लामो इतिहास बोकेको त्रिभुवन विद्यालयको उपकुलपति चयनबाटै सुधार गरेर लैजाने योजना रहेको प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन् । फलस्वरुप खुला प्रतिष्पर्धाबाट उपकुलपति चयन गर्ने भन्दै दरखास्त आह्वान गरियो । जसमा ४३ जनाले आवेदन दिए । ती मध्ये १४ जना सर्टलिष्टमा परे । तर सर्टलिष्टमा परेका १४ जना उम्मेदवारमाथि भ्रष्टाचार, अनियमिततादेखि बौद्धिक चोरीको समेत आरोप लाग्यो । शिक्षामन्त्री अशोक राईको नेतृत्वको समितिले आइतबार सर्टलिष्टमा परेका १४ जनाको अन्तरवार्ता लिँदै ३ जनाको नाम कुलपति समक्ष सिफारिस गरेको छ ।
समितिले सिफारिस गरेका ३ जना को कस्ता छन् त ?
चित्रबहादुर बुढाथोकी
छनोट समितिले सिफारिस गरेको उपकुलपतिका तीन उम्मेदवारमध्ये पहिलो नम्बरमा हालका शिक्षा संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकीको नाम छ । स्रोतका अनुसार सिफारिस समिति र विज्ञहरुले गरेको मूल्यांकनमा ५८ वर्षीय बुढाथोकीले सबभन्दा बढी अंक पाएका थिए । प्रधानमन्त्रीले अंककै आधारमा चयन गरे उनी उपकुलपति हुनेछन् । तर सिफारिस भएकामध्ये जो पनि नियुक्त गर्न सक्ने भएकाले बुढाथोकी नै उपकुलपति हुन्छन् भन्ने अवस्था नभएको स्रोतको दाबी छ । तर प्रधानमन्त्रीकाे बाचा अनुसार गए बुढाथाेकी हुने निश्चितप्राय छ।
बुढाथोकी त्रिवि शिक्षाशास्त्र संकायका डीन हुन् । बुढाथोकीले त्रिवि शिक्षा संकायबाट २०५० मा विशिष्ट श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । २०५२ मा उपप्राध्यापकबाट विश्वविद्यालय प्राध्यापन सेवामा प्रवेश गरेका उनी २०५९ मा प्राध्यापक र २०६९ मा शिक्षा शास्त्र संकायको सहायक डीन भए । २०७८ मा डीन नियुक्त भएका उनको कार्यकाल ९ साउन २०८१ सम्म छ । उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्वास्थ्य शिक्षामा विद्यावारिधि गरेका छन् ।
अन्य २ जना केशरजंग बराल र टंकनाथ धमलाकाे नाम पनि क्रमश ३ जनाभित्र परेकाे छ।