सुर्खेत,कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मीला बिश्वकर्माले मन्त्रालयकाे बजेटबाट दुर्गम गाउँवस्तीमा सञ्चालित याेजनाहरूकाे अनुगमनलाइ निरन्तरता दिनुभएकाे छ। शुक्रवार सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ सुर्खेत स्थित विस्तृत सम्भाव्यता अध्ययन भइरहेको सोतखोला बहुउद्देश्यीय आयोजनाको स्थलगत निरीक्षण र अवलोकन गर्नुभएकाे हाे।
उक्त आयोजना सञ्चालनको आवश्यकता औंल्याउँदै सञ्चालन भएको खण्डमा सुर्खेत जिल्ला र कर्णाली प्रदेशकै नयाँ, बहुउद्देश्यी, बहुउपयोगी र कर्णाली प्रदेश सरकारकै गौरवको आयोजना हुने मन्त्री विश्वकर्माले विश्वास व्यक्त गर्नुभयो ।
अनुगमन टाेलिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका सचिव आनन्द सारू,जलस्रोत तथा उर्जा विकास मन्त्रालयका वरिष्ठ सि.डि.ई.गोपाल शर्मा , प्रशासन महाशाखा प्रमुख पदमराज देवकोटा,खानेपानी सिंचाइ तथा उर्जा विकास निर्देशनालयका निमित्त निर्देशक श्रीधर भट्टराइ,निर्देशनालयको प्रशासन शाखाका शंकर भट्टराई र सचिवालय टिमकाे सहभागिता रहेकाे थियाे। अनुगमनका क्रममा स्थानीयबासीसँग समेत रायसुझाव लगिएकाे छ।
मन्त्री विश्वकर्माले प्रदेशका डाेल्पा,मुगु र हुम्लाका याेजनाका अनुगमनका साथै जाजरकोट जिल्लाको बारेकाेट गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने कर्णाली प्रदेश सरकारबाट निर्माणाधीन अवस्थामा रहेको बहुबर्षिय नाैफेरी सिंचाई आयाेजनाकाे स्थलगत अनुगमन गर्नुभएकाे थियाे।