काठमाडौँ, राष्ट्रिय सभाका नयाँ १९ जना सदस्यले आज (सोमबार) शपथ लिँदै छन् । गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जसपाका १–१ राष्ट्रिय सभा सदस्यले शपथ लिन लागेका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्य भने आफ्नो ६ वर्षे कार्यकाल पूरा गरेर संघीय संसद्बाट बाहिरिएका छन् । उनीहरूको स्थानमा नयाँ सदस्य आएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत हुने एक जना सदस्यको भने टुंगो लागिसकेको छैन । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालका अनुसार सोमबार बिहान साढे ११ बजे शपथ कार्यक्रम तय भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले शपथ गराउने कार्यक्रम छ । दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ, जहाँ नयाँ सदस्यले आफ्नो धारणा राख्नेछन् ।
नयाँ निर्वाचित राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट छन् । माओवादीबाट रेनु चन्द, विष्णुबहादुर विश्वकर्मा, झक्कु सुवेदी, मनरूपा शर्मा र श्रीकृष्ण अधिकारी राष्ट्रिय सभामा आएका छन् । एकीकृत समाजवादीका सावित्री मल्ल र घनश्याम रिजाल विश्वकर्मा, जसपाकी पूजा चौधरी र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएका छन् ।
राष्ट्रिय सभाबाट एमालेका अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत १ सांसदको कार्यकाल सकिएको हो । कार्यकाल सकिनेमा एमालेबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुहार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई छन् । कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थको कार्यकाल सकिएको छ भने माओवादीका हरिराम चौधरी, बिना पोखरेल र महेशकुमार महराको कार्यकाल सकिएको हो । एकीकृत समाजवादीका भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहेकी नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट शिक्षा राज्यमन्त्रीसमेत रहेकी प्रमिला कुमारी छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि कार्यकाल सकिएको छ ।
अध्यक्ष पद नै रिक्त भएपछि राष्ट्रिय सभाको क्यालेन्डरअनुसार फागुन २९ मा निर्वाचन गर्ने तय भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच अध्यक्षको निर्वाचनलाई लिएर अन्यथा निर्णय नभए सोही दिन चुनाव हुनेछ ।