काठमाडौं,अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो ।
माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । सत्ता गठबन्धन भत्किने भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।
एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउनेछ ।
त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने एमाले नेताहरूको भनाई छ । यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।
नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।
स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ,’ स्रोतले भन्यो ।