इलाम,इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो ।
त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरे ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।
इलाम–२ मा रास्वपा उम्मेदवारको जमानत जफत
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन असफल भएका छन् । कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि लिम्बूको जमानत जफत भएको हो ।
इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बूले ५ हजार ५० भोट मात्र ल्याए ।