काठमाडाैँ,एमालेसहितको नयाँ सत्तागठबन्धन बनेको दुई महिना बित्दासमेत साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि मत्थर भएको छैन । बरु समाजवादीका नेताहरू गठबन्धनकै भविष्यबारे सार्वजनिक रूपमै प्रश्न उठाउन थालेका छन् । अध्यक्ष नेपालले केही दिनअघि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो पार्टीले जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिएका थिए । अर्कोतर्फ नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद बढाएका छन् । आफू प्रधानमन्त्री बन्ने सर्तमा नेपाल गठबन्धन तोड्न र बनाउन तयार रहेको उनकै पार्टीका नेताहरूले बताएका छन् ।
‘अहिले सैद्धान्तिक रूपमा बनेको गठबन्धन होइन । यो संसद्को अंकगणित र ओलीको गठबन्धन भत्काउने सर्तअनुसार बनेको हो । एकीकृत समाजवादीले नेतृत्व गर्ने सवालमा कुनै पनि गठबन्धन तोड्न र बनाउन हामी खुला छौँ,’ प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राजनीति जता पनि मोडिन सक्ने अध्यक्ष नेपालको भनाइ छ । ‘अहिले हामी यो गठबन्धनमा छौँ । मनको चैन भइराख्या छैन । व्यवहारमै समस्या होला । अब कुन दिन के भइहाल्ने हो भन्न सक्ने स्थिति छैन,’ बुधबार पार्टीको चितवन जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपालले भने ।
समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान गठबन्धनको भविष्य लामो नभएको बताए । ‘यो सरकारको आयु लामो छैन । विकल्पबारे छलफल सुरु भइसकेको छ । परिपक्व हुन केही समय लाग्छ,’ उनले भने ।
नेपाल ओलीप्रति आक्रामक हुँदा पछिल्लो समय प्रधानमन्त्री प्रचण्डप्रति भने नरम छन् । पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिलाउन प्रधानमन्त्रीले भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए ।
नेपाल ओलीप्रति भने निकै आक्रामक छन् । ‘हामी प्रधानमन्त्री बनिहाल्छौँ कि भनेर कतिपयलाई पोल्न थालेको छ । पोल्ने मान्छे पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दनदनी आगोले पोल्देओस् । त्यस्ता प्रवृत्ति बोक्नेलाई धिक्कार छ भन्न चाहन्छु,’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले असन्तुष्टि पोखेका थिए । यसका लागि परिस्थिति अनुकूल बनाउने कुरामा ध्यान जानुपर्ने उनको भनाई थियो ।
२१ फागुनदेखि देउवा र नेपालबीच पाँचपटक प्रत्यक्ष भेटवार्ता भइसकेको छ । केहीपटक टेलिफोन संवाद पनि भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि नेपालले यसबीचमा छलफल गरेको स्रोतले बताएको छ । नेपाल कांग्रेस–माओवादीसहितको यसअघिकै गठबन्धन ब्युँत्याउने प्रयासमा छन् । जसमा प्रचण्डपछि नेपाल र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने सहमति थियो । नयाँ गठबन्धन बनेसँगै उक्त सहमतिको औचित्य समाप्त भएको छ ।
पूर्वसहमतिअनुसार सत्तागठबन्धनमा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नपाएपछि प्रदेशमा नयाँ समीकरणको प्रयास भएको थियो । कांग्रेस, एकीकृत समाजवादी र रेशम चौधरीपक्षीय नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका थिए । सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीले पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिए पनि धोका पाएको एकीकृत समाजवादीका नेताहरूले दाबी गरेका छन् ।
देउवा नेपाललाई प्रधानमन्त्री बनाएरै भए पनि गठबन्धन भत्काउने पक्षमा छन् । तर, संसदीय अंकगणित अनुकूल छैन । ‘संख्याको यकिन हुने र नेतृत्व लिने अवसर आयो भने दलहरूलाई समेटेर जान सकिन्छ,’ खतिवडाले भने, ‘बहुमत सुनिश्चित र कानुनी बाटो केलाएर मात्रै अगाडि बढ्ने पक्षमा छौँ ।’
प्रतिबद्धतामा सत्तागठबन्धका प्रमुख दल प्रतिबद्ध नदेखिएकाले लिखित सहमति आफूहरूले खोजेको खतिवडाले बताए । ‘विनासहमति सहकार्य हुन सक्दैन । सत्ताको साझेदार भएपछि सहमति हुनुपर्छ । लागू गर्ने कुरामा सहयात्री दलमा प्रतिबद्धता देखिएन । त्यसकारण हामीले प्याकेजमै सहमति खोजेका छौँ,’ खतिवडाले भने ।
एकीकृत समाजवादीलाई विश्वासमा लिएर अन्य दलसँग छलफल अगाडि बढाउने पक्षमा देउवा देखिएका छन् । कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सिट जोड्दा १३८ सिट हुन्छ । जनमोर्चा र स्वतन्त्र सांसद पनि वैकल्पिक गठबन्धनमा सहभागी हुने आकलन नेताहरूको छ ।
२१ फागुनमा नयाँ गठबन्धन बनेपछि २२ फागुनमा देउवाले नेपालनिवास कोटेश्वरमै पुगेर नेपाललाई प्रधानमन्त्रीको अफर गरेको नेताहरूले दाबी गरेका छन् । तर, पार्टीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले वाम सहकार्य अगाडि बढाउनुपर्ने भन्दै दबाब दिएपछि सचिवालय बैठकले नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको थियो । २१ फागुनमा सुरुमा चारदलीय नयाँ गठबन्धन निर्माणयता नै प्रायः प्रत्येक कार्यक्रममा नयाँ समीकरणप्रति नेपालले शंका गर्दै आएका छन् । नयाँ पत्रिकामा खवर छ।