काठमाडौं, नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले राखेको फरक मत दस्ताaवेजमाथिको असहमति नभएको बताएको छ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।
पछिल्लो केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारेको निर्णयमा असहमति जनाउँदै फरक मत राखेका थिए ।उनीहरूको फरक मत पार्टीले औपचारिक सर्कुलरमा समेत समावेश गरेको छैन ।
त्यसबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफमा महासचिव पोखरेलले भने, ‘कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय दस्तावेजको कुरा होइन । त्यो दस्तावेजमा उहाँहरूको फरक मत होइन । निर्णयमाथिको हो । निर्णयमाथिको फरक मत विधान अधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनबाट निरुपण गर्ने भन्ने सचिवालयले गर्ला ।’
विधान महाधिवेशनमा प्रस्तुत गर्ने विभिन्न दस्तावेजहरूमाथिको फरक मत नभएकाले त्यसबारे सचिवालयले निर्णय लिने उनले बताए ।
‘मतका हिसाबले दस्तावेजमाथिको फरक मत नभएको हुनाले विधान महाधिवेशनमा गर्ने कि नगर्ने भन्ने सचिवालयमा छलफल गरेर टुंगो लाग्ला । निर्णयमाथिको असहमति भएकाले विचारमाथिको असहमति होइन,’ उनले भने ।
स्थायी कमिटी सदस्य कर्ण थापाले भने लोकतान्त्रिक विषय नै उठाएर विधानमाथि असहमति राखेकाले विधान अधिवेशनमा उठाउन सकिने उनले बताए । यद्यपि यसबारे पनि भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले निर्णय लिने उनले बताए ।
‘जहाँसम्म स्थायी समिति सदस्य कर्ण थापाले पार्टी लोकतान्त्रिक विषय उठाएर विधानकै प्रावधानका सन्दर्भमा असहमति राख्नुभएको छ । त्यो उहाँले विधान अधिवेशनमा उठाउन सक्ने विषय छ,’ पोखरेलले भने, ‘त्यो विषय कसरी प्रस्तुत गर्ने भन्ने विषय भोलिको सचिवालय बैठकले निरुपण गर्ला ।’