spot_img

दल दर्ताको पनि लहरःकुलमान,जेन जी देखि अभियन्ताहरूकाे दल दर्ता

spot_img

ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्र्टी पुनर्गठन गर्दै निर्वाचन आयोगमा पुनः कागजात पेस गरिएको छ । २७ साउनमै काभ्रेका ज्ञानबहादुर तामाङले दिएको निवेदनमै पार्टी पुनर्गठनको कागजात बुझाइएको हो ।

अन्तरिम सरकारमा तीनवटा मन्त्रालय सम्हालिरहेका घिसिङ पार्टीमा प्रत्यक्ष जोडिएका छैनन् । तर, विभिन्न पक्षसँग छलफल गरी उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा उज्यालो पार्टी दर्ता प्रक्रिया अगाडि बढाएका हुन् । ५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको चुनाव चिह्न बलेको चिम रहेको छ । ज्ञानबहादुर तामाङ भने केन्द्रीय सदस्य रहेका छन् ।

निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय समितिको अद्यावधिक विवरणमा डा. ताराप्रसाद जोशी (डडेल्धुरा), प्राडा महेन्द्रसुन्दर लावती (पाँचथर), डा. घनश्याम पाण्डे (रुपन्देही), डा. सागर ढकाल (स्याङ्जा), डा. अभिषेकराज सिंह (सर्लाही), ई. डा. शंकर ढकाल (काभ्रे), ई. तेजनारायण यादव (सिराहा), रिमा विश्वकर्मा (बर्दिया), टासी ल्हान्जोम (हुम्ला), डा. राजु थापा (काठमाडौं) सदस्य छन् ।

यसैगरी डा. विशाल भण्डारी (दोलखा), श्री गुरुङ (संखुवासभा), ई. निलिमा बस्नेत (झापा), ई. दीपेन्द्र जमरकट्टेल (धादिङ), सीतादेवी पाण्डेय (रुपन्देही), ज्ञानेन्द्रकुमार तामाङ (काभ्रे), डकेन्द्रसिंह थेगिम (इलाम), डा. आशुतोषविजय पन्त (काठमाडौं), डम्बर लावती (सुनसरी), हिराप्रसाद सोती (किरण विक) (रुपन्देही), सोमप्रसाद चौधरी (बर्दिया), विजय कँडेल (नवलपरासी), ई. अरविन्द साह (बारा), धनबहादुर मिक्चन (सर्लाही), कुशल गुरुङ (कास्की), निर्देश सिलवाल (लमजुङ), लाक्पा फुटी शेर्पा (सोलुखुम्बु), सुभाष प्रधान (चितवन), जितराम लामा (काभ्रे) केन्द्रीय सदस्य छन् ।

यसैगरी, सरस्वता सुब्बा (सरु) (ताप्लेजुङ), विद्या श्रेष्ठ महर्जन (काठमाडौं), रामेश्वर श्रेष्ठ (काठमाडौं), तुलसा वाइबा (सिन्धुली), रजिया बानु (काठमाडौं), महेन्द्रकुमार थापा (इलाम), ज्योत्सना सैँजू (काभ्रे), अग्निमाया मेचे (झापा), कुसुम घिमिरे (अर्घाखाँची), मनोज लुहार (कैलाली), सुमी मोक्तान (काठमाडौं), सञ्जीव भट्टराई (चितवन), सुजन श्रेष्ठ (काठमाडौं), देवकी पौडेल (नुवाकोट), रोशनी लामा तामाङ (रामेछाप), बालिका चौधरी (बर्दिया), भीमबहादुर कुमाल (कञ्चनपुर), खड्कबहादुर बस्नेत (बागलुङ), राजाराम तण्डुकार (ललितपुर), ई. राजेन्द्र शाही (कालिकोट), शिवानी प्रधान (ललितपुर) रहेका छन् ।

दल दर्ताका लागि अद्यावधिक विवरणहरू बुझाउन निर्वाचन आयोग पुगेका इन्जिनियर डा. शंकर ढकालले उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचको दल भएको र गन्तव्य उन्नत समाजवाद भएको बताए । ‘त्यसैले यो उन्नत मध्यमार्गी समाजवादको सिद्धान्तबाट निर्देशित छ । हाम्रो मुख्य उद्देश्य गुणस्तरीय पूर्वाधार र समग्रतामा आर्थिक समृद्धि र क्रान्ति नै हो । व्यवस्थामा परिवर्तन आयो, अवस्थामा आएन । किनभने डेलिभरी दिन सक्ने योग्य मान्छे राजनीतिमा आएनन्,’ उनले भने, ‘अब विज्ञहरू र युवामा पनि आर्थिक रूपमा स्वतन्त्र र केही व्यवसाय गरेका युवाको वर्चस्व हुने गरी पार्टी बनाएका छौँ,’ यो सुरुवात मात्र हो । निर्वाचनपछि यो देशको सत्ता सम्हाल्नेछ ।’

उनका अनुसार समानुपातिक सहभागिता, मेरिटोक्रेसी, सही व्यक्ति–सही ठाउँलाई पार्टीले मूल मन्त्र बनाएको छ । ‘नेपालको राजनीतिमा लोडसेडिङको अन्धकार थियो । त्यसलाई चिर्नका लागि गुम्सिएर बसेको चिजलाई जेन–जीहरूले आँटे । यही विद्रोहको जगमा एकखालको उज्यालोको अपेक्षा हो । विकासको अपेक्षा हो । यहाँनेर डेलिभरी दिन विज्ञहरू आउनुप¥यो । भिजनरी युवा आउनुप¥यो । जेन–जीले साथ दिनुप¥यो भन्ने हो,’ उनले भने ।

सुमना र सुदन गुरुङ अटाएनन्
उज्यालो नेपाल पार्टी गठनका क्रममा सुरुवातमा पूर्वमन्त्री सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङको समूह पनि छलफलमा थियो । ऊर्जामन्त्री घिसिङले चरणबद्ध छलफल गरेका थिए । तर, अन्तिममा पार्टीको नाम, संयोजकमा असहमति जनाउँदै श्रेष्ठ जोडिइनन् । श्रेष्ठ नजोडिएपछि दर्ता गर्ने दिन मंगलबार सुदन गुरुङ पनि पछि जोडिने भन्दै बाहिरिए ।

सोमबारसम्म सुदन गुरुङको जेन–जी नेटवर्कमा आबद्ध ६ वटा प्रदेशका संयोजक उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बन्न सहमत हुँदै सूचीमा नाम राखिएको थियो । तर, मंगलबार सुदन गुरुङले अहिले साथ दिन नसक्ने भनेपछि उनीहरूको नाम हटाएर केन्द्रीय सदस्यको सूची आयोगमा बुझाइएको एक सदस्यले बताए ।

‘सुमनाजीले अनेक प्रश्न गर्नुभयो । सहिद परिवारको मान्छे संयोजक हुनुप¥यो भन्नुभयो,’ उनले भने, ‘जेन–जीको कोही संयोजक बनाउनुपर्छ भन्नुभयो । तर, हामीले अनुहार देखाउनेभन्दा डेलिभरी खोजेको हो, सुशासन, विकास, रोजगारीको अपेक्षा हो भन्यौँ । जेन–जीको आन्दोलनलाई ग्ल्यामराइज गर्ने हो कि खोजेको मुख्य अपेक्षा पूरा गर्ने हो भनेर राख्यौँ ।’

त्यसपछि सुमनाले ‘कुलमान घिसिङको पार्टी भन्ने, कुलमान घिसिङ प्रत्यक्ष लिडरसिपमा नआउने, यस्तो पनि हुन्छ ?’ भनेर प्रश्न गरेकी थिइन् । त्यसमा पार्टीले कुलमानलाई सफल बनाउने सहयोद्धा भएको र कुलमान आइसकेपछि छोड्ने जवाफ दिइएको थियो । साथै, एक व्यक्ति, एक पदको अवधारणाअनुसार पनि कुलमान मन्त्री भएकाले अहिले आउन नसकेको जवाफ दिएका थिए ।

त्यसपछि सुमनाले अनुपराज उपाध्यायलाई अहिले अध्यक्ष बनाएपछि कुलमान आउने वेला छोड्छन् त भनेर प्रश्न गरेकी थिइन् । पार्टीले कुलमानले नै सबै पक्षसँग सक्रिय छलफल गरेर पार्टी बनाएकाले उनी नै नेतृत्वमा रहने जवाफ दिँदा सुमना आफू कसरी जोडिने भन्ने मोडमा पुगेको र अहिले शक्तिहीन अवस्थामा कुन पद पाउने भन्ने अन्योलले जोडिन नसकेको तर निरन्तर संवाद भइरहेको नेताहरूले बताएका छन् । उनीहरूले १५ दिन वा महिना दिनपछि कुलमानले पार्टीको नेतृत्व सम्हाल्ने बताएका छन् ।

सुमनाले नेपाल विकास पार्टी राख्न प्रस्ताव गरेको र आफूहरूले नेपाल उज्यालो विकास पार्टी प्रस्ताव गरेर बालेनसहितलाई जोड्न खोजे पनि कुरा नमिलेको नेताहरू बताउँछन् । नेताहरूका अनुसार सुमना र सुदन गुरुङ नजोडिए पनि काठमाडौंका मेयर बालेन्द्र शाहनिकट व्यक्तिहरू केन्द्रीय सदस्य बनेका छन् । उनीहरूले यसलाई बालेनकै समर्थनका रूपमा दाबी गरेका छन् ।

पछिल्लो समय पूर्वाधार र सहरी विकासका सन्दर्भमा बालेन र कुलमानबिच राम्रो सहकार्य रहेको बताइन्छ । कुलमान घिसिङले नेतृत्व सम्हाल्ने वेलासम्म सुदन गुरुङले पनि भविष्यमा सहकार्य गर्ने वाचा गरेका छन् ।

जेन–जीले खोले जनादेश पार्टी
अधिवक्ता रमन कर्णको संयोजकत्वमा जेन–जी युवाहरूले जनादेश पार्टी नेपाल गठन गरेका छन् । युवाहरूले हातमा माइक बोकेको चुनाव चिह्न राखेर दल गठन गरी दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । पार्टीको मस्यौदाकार जस्मिन ओझाले पार्टीमा १८ वर्षदेखि ८० वर्ष उमेरसम्म पाँचवटा जेनरेसन (पुस्ता)को प्रतिनिधित्व रहेको बताइन् । पार्टीको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ ।

केन्द्रीय सदस्यमा माधवसुन्दर खड्का, योगेन्द्र तामाङ घिसिङ, एलिजा गौतम, कमल सुवेदी, कुशल खत्री, लक्ष्मण लामा, सीता रेग्मी योञ्जन, जस्मिन ओझा, गणेशप्रसाद चौलागाईं, दीपक चौधरी, विप्लवी न्यौपाने, इन्द्रजित साफी, विनु यादव, रञ्जना पौडेल, प्रदीप भट्टराई, प्रेमकुमार घिसिङ, मणिसुन्दर लिम्बू, विकासकुमार ठाकुर, नीरज सिंह, मनीष गोडवा, केदारमान लामा, शुक तामाङ, सर्जु सिग्देल, मदन कार्की, लक्ष्मी घलान र सम्झना कुँवर छन् ।

यस्तै, शंकुप्रसाद जैसी, सुशील बुढाथोकी, छेन्ताङहाङमा लिम्बु, राम नेपाली, अनिता यादव, केशव भट्टराई, नमराज शाही, व्रजित कर्ण, पहलसिंह केसी, रिता भट्टराई, देव श्रेष्ठ, लोमसाङ ब्लोन, नितेशकुमार केशरी, प्रशान्त प्याकुरेल, मन्दीपकुमार लाभ, युवराज थापा, माधवकुमार श्रेष्ठ, विक्रम राना र विमलेगु कुमार रहेका छन् । पत्रकार ऋषि धमला संरक्षक छन् ।

केन्द्रीय सदस्यसमेत रहेकी ओझाले समावेशी नेतृत्व हुने र जेन–जी महिलालाई प्राथमिकता दिइने बताइन् । घाइते र सहिद परिवारका सदस्यहरू रहेको यो पार्टीमा जेन–जीहरू नेतृत्वमा रहेको उनले बताइन् । ‘अभिभावक चाहिन्छ भनेर रमनकुमार कर्णलाई संयोजक दिएको भए पनि हामी जेन–जीहरू नै पार्टीको मस्यौदाकार हो । पदाधिकारीहरू जेन–जी नै हुन्छन्,’ उनले भनिन् । मस्यौदा समितिमा विप्लवी न्यौपाने, कमल सुवेदी र हिक्मत डंगोल सदस्य छन् । यी सबै जेन–जी हुन् ।

३० दल दर्ताको चरणमा
निर्वाचन आयोगका अनुसार मंगलबारसम्म ३० दल दर्ताको चरणमा छन् । यसमध्ये २१ नयाँ हुन् भने नौ पुराना हुन् । आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ । आयोगले वामदेव गौतम नेतृत्वको नेकपा एकीकरण अभियाननामक दललाई खारेज गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img