प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । प्रधानमन्त्री शाहले पनि समकक्षी मोदीको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ पठाएका छन् । निमन्त्रणासँगै सरकारले प्रधानमन्त्री शाहको भ्रमणको तयारी थालेको छ ।
शाह प्रधानमन्त्री भएपछि मोदीले विदेश मन्त्रालयमार्फत पठाएको लिखित बधाई सन्देशमा उपयुक्त समयमा भारतमा स्वागतका लागि प्रतीक्षारत रहेको उल्लेख गरेको परराष्ट्रमन्त्री शिशिर खनालले पुष्टि गरेका छन् । साथै, शुक्रबार मौरिससमा भएको भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटमा सुरुमा काठमाडौंमा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय बैठक राख्ने र त्यसपछि उच्चस्तरीय भ्रमण तय गर्ने सहमति बनेको मन्त्री खनालले बताए ।
हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा मौरिसस रहेका खनालले शनिबार नयाँ पत्रिकासँगको फोन संवादमा भारतीय प्रधानमन्त्रीको निमन्त्रणा आएको र प्रधानमन्त्री बालेनले स्वीकार गरेको पनि पुष्टि गरे । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले पठाउनुभएको बधाई सन्देशमा हाम्रो प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणको निमन्त्रणा गरिएको छ । प्रधानमन्त्रीले भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएको छ,’ परराष्ट्रमन्त्री खनालले मौरिससबाट नयाँ पत्रिकासँग भने ।
मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालयले भारतलाई जवाफी चिट्ठीमा उपयुक्त समयमा कूटनीतिक च्यानलमार्फत भ्रमण तय गर्ने भनेको छ । ‘कुनै मिति तय भएको होइन, निमन्त्रणाको औपचारिकता प्राप्त भएको हो र हामीले जवाफ त्यहीअनुसार पठाएका छौँ । एकपटक प्राविधिक तह (परराष्ट्रसचिवस्तरीय) वार्ता काठमाडौंमा हुन्छ, त्यसपछि उच्चस्तरीय भ्रमणका लागि प्रक्रिया अघि बढ्छ,’ खनालले भने ।
मौरिससमै रहेका भारतीय विदेशमन्त्री जयशंकरसँगको शुक्रबार परराष्ट्रमन्त्री खनालसँग उच्चस्तरीय भेटवार्ताको चर्चा भएको थियो । ‘भारतीय विदेशमन्त्रीज्यूसँगको भेटवार्तामा सुरुमा हाम्रा प्राथमिकताबारे गृहकार्य गर्छौँ, हामीबिचका द्विपक्षीय संयन्त्रहरूको पुनरावलोकन गर्छौँ र विशेषगरी सूचना प्रविधिमा आधारित विकास तथा विकासका विविध परियोजनाको प्राथमिकता तय गर्छौँ भनेको छु,’ खनालले भने, ‘त्यसपछि विदेशसचिवस्तरमा दुई पक्षबिच थप समीक्षा गर्ने र त्यस आधारमा भ्रमण तय गरौँ भन्ने छ । यसमा भारतीय विदेशमन्त्री सहमत हुनुभएको छ ।’
खनालका अनुसार जवाफमा जयशंकरले भनेका थिए, ‘तपाईंहरू समय लिएर गृहकार्य गर्नुहोस् र हामीलाई जानकारी दिनुहोस् । म विदेशसचिवलाई नेपाल पठाउँछु । त्यसमा छलफल गरेर अघि बढौँ ।’
परराष्ट्रमन्त्री खनाल स्वदेश फर्केपछि सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने तयारी छ । ‘परिवर्तित परिस्थितिमा नेपालको हितका आधारमा परियोजनाहरूको प्राथमिकता निर्धारण गर्छौँ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘उहाँहरूसँग संवाद गर्छौँ र त्यसपछि उच्चस्तरीय भ्रमणमा प्रवेश गर्छौँ । तयारीसहित उच्चस्तरीय भ्रमण सफल होस् भन्ने हाम्रो चाहना छ । र, नेपालको यो चाहनालाई भारतले स्वागत गरेको छ ।’
नवौँ हिन्द महासागर सम्मेलनमा परराष्ट्रमन्त्री खनालले के भने ?
नवौँ हिन्द महासागर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमाल र महासागर अभिभाज्य रहेको बताएका छन् । ‘हिमालय र महासागर एक–अर्काबाट अलग छैनन् । हाम्रा हिमनदी पग्लिँदा समुद्रको सतह उठ्छ । यो प्रकृतिको नियम हो र यसैले कुनै तटीय राष्ट्रको जस्तै हिन्द महासागरको शासनमा नेपालको सरोकार उत्तिकै गहिरो छ,’ उनले भने, ‘भूपरिवेष्टित राष्ट्रका रूपमा मात्र होइन, सभ्यताको साइनो बोकेको राष्ट्रका रूपमा नेपाल यस मञ्चमा उभियो । करुणा र सामूहिक जिम्मेवारीविना यो संकटको सामना सम्भव छैन चाहे त्यो हिमालयको हिउँ होस् वा महासागरका तटीय समुदाय ।’
परराष्ट्रमन्त्री खनालले पश्चिम एसियामा भएका द्वन्द्वबारे चर्चा गर्दै नेपालका लागि यी टाढाका घटना नभएका र यसले लाखौँ नेपाली नागरिकको सुरक्षा चिन्ता थपेको उल्लेख गरे । ‘पश्चिम एसियाको द्वन्द्वले इनधन मूल्य, आपूर्ति शृंखला र स्वदेशमा जीविकोपार्जनमा असर पारिरहेको छ । यसरी हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग अभिन्न जोडिएको छ,’ उनले भने ।
मन्त्री खनालले साझा प्राकृतिक सम्पदाप्रति जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै यसका लागि समावेशी, पारदर्शी र नियम–आधारित बहुपक्षीय संरचना आवश्यक रहेको बताए । ‘अन्तर्राष्ट्रिय कानुनमा आधारित र सार्वभौमिक समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तद्वारा बहुपक्षीय संरचनाहरू निर्देशित हुनुपर्छ,’ खनालले सम्बोधनमा भने ।
नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि हिन्द महासागरसँगको सम्बन्ध प्राचीन, स्वाभाविक र अविभाज्य रहेको परराष्ट्रमन्त्रीको भनाइ थियो । ‘इतिहासमा नेपाली व्यापारी, तीर्थयात्री र विद्वान्हरूले हिमालदेखि महासागरसम्मका मार्ग प्रयोग गरेका थिए । ती मार्ग केवल व्यापारका लागि मात्र नभई विचारहरूको आदानप्रदानका माध्यम पनि थिए,’ खनालले भने, ‘विशेषतः महासागरका किनारहरूले नेपालमा जन्मेका भगवान् गौतम बुद्धका शिक्षा फैलाएका थिए ।’
परराष्ट्रमन्त्री खनालले नेपालका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको तर्फ ध्यानाकर्षण गराउँदै थपे, ‘यो घटनाले हिमताल विस्फोटको जोखिम बढाएको छ । उता हिन्द महासागर तीव्र रूपमा तातिरहेको छ, जसले समुद्री सतह बढाउँदै तटीय क्षेत्रहरूलाई जोखिममा पारिरहेको छ ।’
हिन्द महासागर विश्व व्यापार र ऊर्जा प्रवाहको केन्द्र भएको उल्लेख गर्दै खनालले यसको स्थिरता विश्वव्यापी जिम्मेवारी रहेको पनि स्पष्ट पारेका छन् । हिमाल र समुद्रका देशहरू केवल भूगोलले मात्र नभएर साझा जिम्मेवारीले पनि जोडिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले थपे, ‘नेपाल संवादको साझेदार, भूपरिवेष्टित राष्ट्रहरूको आवाज र हिमाल–महासागरबिचको पुलका रूपमा तयार छ ।’नयाँ पत्रिकामा खवर छ।