बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूकाे सम्पति विवरण सार्वजनिकः ७८७ तोला सुन कसको कति ? जग्गा र नगदमा पनि काेहि भन्दा काेहि छैनन् कम,हेर्नुहाेस् पुरा विवरण
बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू सुनचाँदीका धनी देखिएका छन् । आज सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री शाहले पत्नी सविनाको पैतृक सम्पत्तिका रूपमा सुनचाँदी १८० तोला देखाएका छन् ।मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको साथमा ७८७ तोला सुन मौज्दात छ ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको साथमा १८० तोला सुन रहेको छ । जुन उनले रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको उल्लेख गरेकी छिन् ।गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन हुँदा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ८० तोला सुन रहेको विवरणमा उल्लेख छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख छ । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहेतासंग ३०–३० तोला सुन रहेको पाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला सुन मौज्दात रहेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग पनि १८ तोला सुन रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विराज भक्त श्रेष्ठ १५ तोला सुन हुँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग पनि १५ तोला सुन रहेको देखिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग ११ तोला सुन रहेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासंग करिब सात तोला सुन रहेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
कोसँग कति छ सुन ?
प्रधानमन्त्री बालेन शाह– १९० तोला
उद्योगमन्त्री गौरी कुमारी– १८० तोला
गृहमन्त्री सुधन गुरुङ– ८९ तोला
श्रममन्त्री रामजी यादव– ८० तोला
अर्थमन्त्री स्वर्णिम वाग्ले– ४५ तोला
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल– ३०
स्वास्थ्यमन्त्री निशा मेहेता– ३० तोला
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल– २५ तोला
शिक्षामन्त्री सस्मित पोखरेल– २५ तोला
परराष्ट्रमन्त्री शिशिर खनाल– २२ तोला
महिला बालबालिकामन्त्री सीता वादी– १८ तोला
उर्जामन्त्री विराजभक्त श्रेष्ठ– १५ तोला
कानुनमन्त्री सोविता गौतम– १५ तोला
पर्यटनमन्त्री खडकराज पौडेल– ११ तोला
सञ्चारमन्त्री विक्रम तिमिल्सिना– करिब ७ तोला
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी– ५ तोला
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र साहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा रहेको छ । त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको छ ।उक्त जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख छ । त्यस्तै पैतृक सम्पत्तिबाट प्राप्त भनेर पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी देखाइएको छ । त्यस्तै बैंकमा प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको छ । उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, टिकटक, स्पटीफाईलगायत उल्लेख गरिएको छ । शाहको फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि विवरणमा उल्लेख छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विभिन्न ९ ठाउँमा जग्गा छ । वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यस्तो देखिएको हो।विवरण अनुसार काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ।त्यस्तै, उनीसँग ४५ तोला सुन छ । यो पारिवारिक तथा रोजगारीबाट आर्जन गरेको विवरण छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ।उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र अन्य ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ।त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको देखिन्छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ ।उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसी÷प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् ।उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन् ।
गृहमन्त्री सुधन गुरुङको धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । धनकुटामा उनकै नाममा १९ रोपनी १५ आना जग्गा रहेको छ । उक्त जग्गा लगानीबाट प्राप्त पैसाबाट किनिएको उनले विवरणमा खुलाएका छन् ।त्यस्तै बुवा दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा जमिन रहेको छ । त्यस्तै हजुरबुवा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जमिन रहेको छ । त्यस्तै मन्त्री गुरुङकै नाममा ८९ तोला सुन र चाँदी ६ किलो रहेको छ । त्यस्तै विभिन्न बैंकमा ६१ लाख ६० हजार रुपैयाँ बचत रहेको छ ।
त्यस्तै होप होल्डिङ्ग्स प्रालिमा ३० हजार थान सेयरको ३० लाख, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालि ५७ हजार थान सेयरको ५७ लाख रुपैयाँबराबरको सम्पत्ति रहेको छ । त्यस्तै एडभेन्चर भिल्ला प्रालिको नाममा ७० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । त्यस्तै विभिन्न कम्पनीको गरी २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँबराबरको सेयर रहेको छ ।त्यस्तै गृहमन्त्री गुरुङको नाममा ४८ लाख रुपैयाँबराबरको एमजी–एस फाइभ कारसमेत रहेको छ ।
कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उनीसँग नगद, सुनचाँदी, सेयरका साथै माइतीबाट पाएका दुई वटा बाख्रा र १० वटा कुखुरासमेत रहेको देखिएको छ ।मन्त्री चौधरीसँग ५० हजार रुपैयाँको घडी, ९० हजारको मोबाइल र ७५ हजार रुपैयाँको ल्यापटप रहेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, उनीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । विभिन्न ५ वटा बैंकमा गरी उनको कुल १ लाख २६ हजार रुपैयाँ बचत रहेको छ । विवरणअनुसार, मन्त्री चौधरीले स्वआर्जनबाट ३ लाख ३० हजार रुपैयाँमा एउटा स्कुटर खरिद गरेकी छन् भने अर्को स्कुटर खरिदका लागि लिएको १ लाख ५० हजार ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको देखिन्छ । साथै, उनको नाममा २ लाख ५० हजार कित्ता सेयर पनि रहेको छ।मन्त्री चौधरीको सम्पत्तिको सबैभन्दा रोचक विवरणमा उनले माइतीबाट प्राप्त गरेका २ वटा बाख्रा र १० वटा कुखुरा पनि समावेश छन्, जसलाई उनले सम्पत्तिको रूपमा विवरणमा उल्लेख गरेकी छन् ।
उद्योग मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ । जसअनुसार उनीसँग काठमाडौँ र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला सुन, करोडौँको लगानी र बैंक मौज्दात रहेको देखिएको छ ।प्रधानमन्त्री कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री यादवको काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा १ रोपनी १ आना २ दाममा तीनतले घर रहेको छ । त्यस्तै, काठमाडौँ–१० मा १४ आना जग्गा, सोही वडामा अर्को ठाउँमा ७ आना एक पैसा २ दाम जग्गा र फेरि सोही वडामा ९ आना १ पैसा तीन दाम जग्गा पनि उनको नाममा रहेको उल्लेख छ । महोत्तरी जिल्लातर्फ, बर्दिबास नगरपालिकामा १४ कठ्ठा, बर्दिबासमै अर्को ठाउँमा १५ कठ्ठा, र बर्दिबासका अन्य दुई ठाउँमा साढे ६ बिघा जग्गा रहेको उनले जनाएकी छन् । यसका साथै, महोत्तरीकै सम्सीमा १ कठ्ठा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी पनि उनको नाममा रहेको विवरणमा देखिन्छ ।
मन्त्री यादवले ३० वर्षअघि खरिद गरेको भनिएको १८० तोला सुन, दुई किलो चाँदी र २ सेट अर्थात् चार रिङ हिराको गहना पनि आफ्नो सम्पत्तिको रूपमा खुलाएकी छन् ।बैंक तथा वित्तीय संस्थामा उनको चार लाख रुपैयाँ सिद्धार्थ बैंकमा, एक लाख रुपैयाँ लक्ष्मी सनराइज बैंकमा, २ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकमा, डेढ लाख रुपैयाँ सीभीआईसीमा र डेढ लाख रुपैयाँ मनमोहन स्वास्थ्य सहकारीमा रहेको देखिन्छ । यसका अतिरिक्त, विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको पनि उनको विवरणमा उल्लेख छ ।
सम्पत्ति मात्र नभई, मन्त्री यादवले ऋणको विवरण पनि सार्वजनिक गरेकी छन् । शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको र ५७ लाख रुपैयाँ पर्ने कार पनि सोही नाममा रहेको विवरणमा देखिन्छ ।यसका अ
तिरिक्त उनले ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ भाडा प्राप्त भइरहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन् ।
मन्त्री गौरी कुमारी यादव दीपक साह बर्खास्तीमा परेपछि उद्योग मन्त्रीको जिम्मेवारीमा आएकी हुन् । उनी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालये आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री लम्साल र उनको परिवारको नाममा विभिन्न स्थानमा जग्गा, ९० लाख नगद, सुन र चाँदी रहेको उल्लेख छ ।सार्वजनिक गरिएको विवरणमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ मा १ कठ्ठा १० धुर जग्गा जमुना लम्सालको नाममा रहेको खुलाइएको छ । त्यसैगरी, जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर जग्गा रहेको पनि उल्लेख छ ।पारिवारिक सम्पत्तिको रूपमा बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको पनि विवरणमा जनाइएको छ । मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । बैंक खातामा ९० लाख रुपैयाँ नगद रहेको जनाइएको भए तापनि सो रकम कुन बैंकमा छ भन्ने स्पष्ट खुलाइएको छैन । मन्त्री लम्सालको सेयर बजार कारोबारसम्बन्धी विवरण पनि सार्वजनिक गरिएको छैन ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ । चैत २३ गते प्रधानमन्त्री कार्यालयमा बुझाइएको विवरणअनुसार उनीसँग करिब १५ तोला सुन, १ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरका सवारी साधन, विभिन्न बैंकमा जम्मा भएको नगद, कम्पनीका सेयर र पैतृक जग्गा तथा सम्पत्ति रहेको छ । मन्त्री गौतम दोस्रो पटक सांसद भएकी हुन् भने पहिलो पटक मन्त्री बनेकी हुन् ।
मन्त्री गौतमले चितवनस्थित भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा रहेको उल्लेख गरेकी छन् । यो जग्गा सासूससुराको नाममा रहेको पैतृक सम्पत्ति भनी विवरणमा जनाइएको छ ।उनको विभिन्न बैंक खातामा नगद मौज्दात रहेको देखिएको छ । एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ रहेको उल्लेख छ ।मन्त्री गौतमसँग विवाहमा प्राप्त भएको १० तोला सुन र ५ तोला पैतृक सुन गरी कुल १५ तोला सुन रहेको उल्लेख गरिएको छ। यसका साथै, ९ तोला चाँदी र विवाहमा प्राप्त भएको १ तोला हिरा पनि सम्पत्ति विवरणमा जनाइएको छ ।सेयरतर्फ, ग्लोबल हिमायल ट्रुक एन्ड ट्रेड्सको ५० प्रतिशत सेयर उनको नाममा रहेको देखाइएको छ, जसलाई पैतृक सम्पत्तिबाट प्राप्त भएको भनिएको छ । त्यस्तै, सोपन मल्टीपल कम्पनीमा ६५०० कित्ता सेयर रहेको उल्लेख छ, यो भने तलबबाट प्राप्त भएको जनाइएको छ ।गाडी खरिद गर्ने प्रयोजनका लागि उनले राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख रुपैयाँ ऋण तिरिएको उल्लेख गरेकी छिन् भने एभरेस्ट बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको जनाइएको छ । सवारीसाधनतर्फ, मन्त्री गौतमसँग २६ लाख रुपैयाँको गाडी रहेको छ।यसैगरी, उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रुपैयाँको गाडी रहेको उल्लेख छ, जुन ऋण र तलबबाट किनिएको जनाइएको छ । २ लाख ७५ हजार रुपैयाँको एक थान स्कुटर पनि विवरणमा खुलाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ।आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएका छन् । यसमा करोडौँ मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी समावेश छन्।सार्वजनिक गरिएको विवरणअनुसार, मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ उल्लेख गरिएको छ । यस्तै, काठमाडौँकै मूलपानीमा ६ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ । मोरङमा १ कठ्ठा जग्गा पनि उनको नाममा उल्लेख छ, जसको मूल्य १ करोड रुपैयाँ उल्लेख छ ।
पारिवारिक सम्पत्तिको रूपमा, उनका बुवाको नाममा काठमाडौँमा ४ आना २ पैसाको घडेरी छ, जसको मूल्य साढे २ करोड रुपैयाँ जनाइएको छ । आमा मिनाक्षी पोखरेलको नाममा गोदावरीमा डेढ करोड रुपैयाँ बराबरको जग्गा र गोकर्णेश्वरमा अर्को डेढ करोडको जग्गा रहेको देखाइएको छ । आमालगायत सम्पूर्ण परिवारको नाममा गोदावरीमै ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको कुल मूल्य ७५ लाख रुपैयाँ जनाइएको छ। उनीसँग २५ हजार रुपैयाँ नगद पनि रहेको उल्लेख छ। यी सम्पत्तिहरू आमाको दाइजो, बुवाको जागिर र पैतृक सम्पत्तिबाट प्राप्त भएको उनले खुलाएका छन् ।
बैंक मौज्दाततर्फ, सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको उल्लेख छ । यसैगरी, विभिन्न कम्पनीका सेयरमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ लगानी रहेको पनि सम्पत्ति विवरणमा जनाइएको छ।
सवारी साधनतर्फ, बुवाको नाममा ७० लाख रुपैयाँ पर्ने एक थान ईभी कार र मन्त्री पोखरेलको व्यक्तिगत नाममा झन्डै ४० लाख रुपैयाँ पर्ने अर्को कार रहेको उल्लेख छ। उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि आफ्नो विवरणमा जनाएका छन् ।यी सबै सम्पत्ति र दायित्वहरू समेटेर मन्त्री पोखरेलले आफ्नो कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको जनाएका छन्।
रास्वपाका नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार खनालसँग काठमाडौँको टोखामा घर रहेको छ । यस्तै तीन जिल्लामा जग्गाजमिन रहेको छ।विवरण अनुसार काठमाडौँ महानगरपालिका–१० स्थित टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर रहेको छ । जग्गाजमिनतर्फ उनको पुख्र्यौली तथा स्वआर्जित सम्पत्ति तीन जिल्लामा फैलिएको छ। तनहुँको भानुमा १५ रोपनी पुख्र्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी र बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।नगद तथा जिन्सी सम्पत्तिमा उनीसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ।
खनालको विभिन्न कम्पनी र शेयर बजारमा समेत लगानी रहेको छ। उनले पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर स्वामित्व रहेको उल्लेख गरेका छन्। त्यस्तै बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंकलगायत विभिन्न जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा पनि उनको लगानी रहेको छ।
सवारी साधनतर्फ उनले करिब ४० लाख रुपैयाँमा खरिद गरेको गाडी प्रयोग गरिरहेका छन् । उनले ७५ लाख ऋण रहेको पनि खुलाएका छन्।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -