पेरिस, पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन् । वार्ताको मध्यस्थकर्ता गरेको पाकिस्तानले युद्ध अन्त्यका लागि वार्ता अनिवार्य देखिएको भन्दै दुवै पक्षबीच विश्वासको वातावरण बनाउनु विश्व समुदायको कर्तव्य भएको बताएको छ ।
‘दुई पक्षहरूले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्नु अत्यावश्यक छ’ पाकिस्तानका विदेशमन्त्री इशाक दारले भने, ‘इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच वार्ता र संवादका लागि पाकिस्तानले आगामी दिनमा पनि आफ्नो भूमिकालाई महत्त्वका साथ अघि बढाउनेछ ।’ जारी खाडी द्वन्द्व समाधानका लागि कूटनीति आवश्यक रहेको युरोपेली संघका विदेश मामिला हेर्ने शाखाका प्रवक्ता अनउआर अल अनौनीले बताए ।
रुसले पनि आगामी दिनमा युद्धविराम मध्यस्थताका लागि इच्छा देखाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिम एसियामा शान्ति स्थापनाका लागि मध्यस्थताको प्रयासमा सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।
‘रुसी नेता पुटिनले द्वन्द्वको राजनीतिक र कूटनीतिक समाधानलाई अझ सहज बनाउन र पश्चिम एसियामा न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने प्रयासमा मध्यस्थता गर्न आफ्नो तत्परतामा जोड दिनुभएको छ,’ क्रेमलिनद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । बेलायतले वार्ता निष्कर्षविहीन अवस्थामा टुंगाउँदै दुवै देशका वार्ता टोली फर्कनुले निराश बनाएको बताएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले स्काई न्युजसँग भने, ‘वार्तामा सफलता हासिल नगर्नु र इरानमा जारी युद्धको अन्त्य नहुनु निराशाजनक हो । कूटनीतिमा वार्ता सफल नहुँदासम्म तपाईं असफल भएको मानिन्छ । सबै वार्ताहरू सफलतामा समाप्त नहुन सक्छन्, यसको मतलब यो होइन कि प्रयास जारी राख्नुको कुनै औचित्य छैन ।’ अस्ट्रेलियाले पनि थप वार्ताको आग्रह गरेको छ ।
अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले एक विज्ञप्ति जारी गर्दै ‘अहिलेको प्राथमिकता युद्धविरामलाई निरन्तरता दिनु र वार्तामा फर्कनु’ रहेको बताएका छन् ।एजेन्सी