नेपाली कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने भएको छ।नेताहरूका अनुसार क्रियाशील सदस्य लिन चाहने व्यक्ति अनिवार्य रूपमा सम्बन्धित वडा कार्यसमितिमा पुग्नैपर्ने व्यवस्था गरिएको छ।पहिलेजस्तो अरूले फारम भरिदिएर र शुल्क तिरिदिएर अब क्रियाशील सदस्यता नपाइने भएको हो।महामन्त्री प्रदीप पौडेलका अनुसार सम्बन्धित व्यक्ति आफै वडा कार्यसमितिमा पुगेर क्रियाशील फारम भर्नुपर्छ।
’क्रियाशील सदस्य लिन चाहने व्यक्ति आफै आफ्नो वडा कार्यसमितिमा पुगेर फोटो खिचाउनुपर्छ, मोबाइल नम्बर अनिवार्य दिनुपर्छ किनकि त्यसमा ओटिपी आउँछ, त्यही पासवर्डका आधारमा क्रियाशील सदस्यता भेरिफाइ गरिन्छ,’ महामन्त्री पौडेलले भने, ’परम्परागत क्रियाशील सदस्यता कार्डको सट्टामा अब हामी कांग्रेस आइडी दिन्छौं, यो डिजिटल हुन्छ।’कांग्रेसले पार्टीको विद्यमान क्रियाशील सदस्यता वितरण, व्यवस्थापन र अभिलेखिकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन खोजेको छ।
हालसम्म पार्टीमा आबद्ध रहेकाहरूलाई क्रियाशील सदस्यता अभिलेखमा राखी एक पटकका लागि सम्पूर्ण सदस्यलाई पुनः क्रियाशील सदस्यता फाराम भर्न समय दिने तयारीमा कांग्रेस छ। त्यसका लागि वैशाखभर क्रियाशील सदस्यता नवीकरण र वितरण अभियान चल्नेछ।कांग्रेसले वैशाखभिर देशका ६ हजार ७ सय ४३ वटै वडामा सदस्यता अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने केन्द्रीय समितिबाट निर्णय गरिसकेको छ।
नेपाली कांग्रेसले जरा अभियान सुरू गरेको छ।यो अभियान वैशाखभर सञ्चालन हुनेछ।जरा अभियान वैशाख १ गतेदेखि सुरू भएको हो।प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका ३० बाट आफ्नो कृयाशील सदस्यता अद्यावधिक गरेसँगै वैशाख १ गतेदेखि जरा अभियान सुरू भएको हो।
‘वैशाखभर चल्ने अभियानका क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह हुनेछ भने अर्कातर्फ स्थानीय तहसम्म पार्टी जागरण र रूपान्तरण क्रममा क्रियाशील सदस्यता अधावधिक गर्ने कार्य हुनेछ,’ प्रवक्ता चालिसेको भनाइ छ, ‘रूखको जरा गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न यो अभियानले मद्दत पु¥याउने विश्वास लिइएको छ।’
जरा अभियानमार्फत पार्टीको भूमिका सबल बनाउँदै देश, प्रणाली र समाज सबल बनाउने ध्येयमा पार्टी समर्पित रहेको पनि उनले बताए।प्रवक्ता चालिसेका अनुसार अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ। प्रदेश कार्यसमितिले पनि प्रतिनिधि खटाउने तयारी गरेको छ।प्रतिनिधिले सम्पादन गर्नुपर्ने जिम्मेवारी र अभियानको निर्देशिका आन्तरिक रूपमा पठाइएको उनको भनाइ छ।
उनका अनुसार जरा अभियानका केही उद्देश्य छन्–
१) राष्ट्रियताको ’जराझ सबल बनाउन
संसदमा रहेका दलहरू बीच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य।
देश बाहिर रहेका नेपालीहरुको सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्र बमोजिम देशभित्रको भावनात्मक जरा बलियो बनाउन आवश्यक नितिगत, कानुनी र संरचनागत बिषयमा पहल, संवाद र सहकार्य।
२) लोकतन्त्रको ’जराझ सबल बनाउन
संसदमा नेपाली कांग्रेसको सहयोगी एवं खबरदारीपुर्ण भूमिका।
संविधान संशोधनको प्रश्नमा लोकतन्त्रको सारभुत मुल्य मान्यतामा सम्झौता नगरी समयोचित दृष्टि, इमानदार अवधारणाको खोजी एवं परिणाममुखी सहकार्य।
३) संघियताको ’जराझ सबल बनाउन
संविधानको मर्म बमोजिम संघीयताको सवलीकरण गर्न आवश्यक कानुन निर्माणमा सहकार्य।
नेपाली कांग्रेस सहभागी रहेका प्रदेश सरकारहरुको गतिविधि समिक्षा, आवश्यक हेरफेर र समयानुकूल परिमार्जन गर्दै प्रदेश सरकार प्रभावकारी बनाउन यो अवधिमा उपयुक्त रणनीति अवलम्बन गर्ने।
स्थानीय सरकार संचालन प्रभावकारी बनाउन यहि अभियान क्रममा सकारात्मक सन्देश प्रवाह गर्ने।
४) नागरिक विश्वासको ’जराझ सबल बनाउन
समुन्नतिको प्रश्नमा दलगत आग्रहभन्दा पर समन्यायिक विकास दृष्टि।
प्रदेश र स्थानीय तहमा रहेका पार्टीका साथीहरूको प्रभावकारिता वृद्धि।
नवयुवाहरुसँग अनेक तहमा संवाद , तिनको सोच र सपना अनुरुप रुपान्तरण र गति।
राज्य, दलहरु र निजि क्षेत्रबीच वृहत्तर सहकार्यको खोजीका साथ निजिक्षेत्रको मनोबल अभिवृद्धि र थप दायरा विस्तारमा प्रोत्साहन।
५) सामाजिक एकताको ’जराझ सबल बनाउन
जातिय, बर्गिय, धार्मिक, सामाजिक र सांस्कृतिक समूहहरूबीच सद्भाव अभिवृद्धिमा भूमिका।
जातीय विभेद र सबै खाले विसंगति नियन्त्रणमा सहकार्य।
६) पार्टीको ’जराझ सबल बनाउन
विमतिका विषयहरू न्यूनीकरण गर्दै पार्टीभित्र खुला संवाद र सहकार्य।
विभिन्न समयमा विविध कारणले पार्टीबाट टाढा भएका साथीहरूलाई ’घर–आँगन फर्कझ आह्वान।
केन्द्रबाट प्रदेशहुँदै स्थानीय तहसम्मका समितीहरुबिच बिषयगत तादाम्यता र सांगठनिक कार्यमा गति वृद्धि।
भ्रातृ र शुभेच्छुक संस्थाहरूको कार्य समिक्षा, आवश्यक निर्णय र ’जराझ तहसम्म सम्बन्धित संस्थाहरूको प्रभावकारिता खोजी।
७) आगामी महाधिवेशनको तयारी
बिशेष महाधिवेशनले पारित गरेका दृष्टि, निर्माण गरेको नेतृत्व र अवलम्बन गरेका नितिको परिवर्तित सन्देश प्रवाह गर्दै क्रियाशिल सदस्यता व्यवस्थित रूपले अधावधिक गर्दै, आगामी असोजमा हुने पार्टीको १५ औं महाधिवेशन तयारी उत्साह र नवीन विश्वाससाथ अघि बढाउने।