यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । उक्त भाइरल भिडियोमा प्रहरीले एक महिलाको घाँटी निमोठेको देखिन्छ । जुन भिडियो सुनसरीको दुबहीको भएको बताइएको छ ।महिलाको किन यसरी घाँटी निमोठियो यसबारे खुल्न सकेको छैन । तर, सामाजिक सञ्जालमा प्रहरीको उक्त व्यवहारको निकै आलोचना भइरहेको छ ।
यसैगरी रुपन्देहीका बुटवलमा अवैध संरचना हटाउने नाममा आतङ्क मच्चाइएको छ । जुन तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल छ । डोजर चलाएर घर तथा पसलहरू भत्काइएका छन्। स्थानीय प्रशासन र नगरपालिकाको संयुक्त टोलीले सडक अतिक्रमण तथा मापदण्ड विपरीत संरचना निर्माण गरिएको भन्दै डोजर आतङ्क मच्चाइएको छ ।
झन्डै दुई तिहाइको सरकार आफ्नो शक्तिको प्रयोग गर्दै अगाडि बढिरहेको सन्दर्भमा यस्ता केही घटनाहरूले आफूहरूलाई गम्भीर बनाएको जेनजी अभियन्ता रक्षा बम बताउँछिन् । यसबारेमा उनले शनिवार सामाजिक सञ्जालमै विपक्षी दल र सो पार्टीका सभापतिको खोजी गरेकी छन् ।
‘एक जना महिलालाई प्रहरीले घाँटी निमोठ्दै गरेको भिडियो पनि सामाजिक सञ्जालमा हामीले देख्यौँ। एउटी आमाले आफ्नो बच्चालाई च्याप्पै समाएर रुँदै गर्दा, बालबालिकाहरूले आफ्नो घर डोजरले भत्किँदै गरेको हेर्दै गर्दा, व्यापारीहरूलाई लखेटिँदै गर्दा, लाठी लगाएर तर्साइँदै गर्दा, तपाईँ किन मौन हुनुहुन्छ, गगन ?’, उनले सामाजिक सञ्जालमा प्रश्न गरेकी छन्, सुध्रिएको कांग्रेस वा नवीन कांग्रेस भन्ने कुरा सत्ता हातमा हुँदा मात्र देखाउने योजना थियो र ? प्रतिपक्षका लागि कांग्रेस होइन र ? नेता जुनसुकै पक्षमा होस्, ऊ अन्ततः जनताकै पक्षमा हुनुपर्छ। जनताकै पीडा र जनताकै मुद्दा बोक्नुपर्छ।’
उनले जनताको घाँटी निमोठ्न कसैलाई पनि छुट नभएको भन्दै जनताले यो सरकारलाई इतिहास रच्न मत दिएका समेत उल्लेख गरेकी छन् ।
उसो त शनिवार नै फुटपाथ खाली गराउने अभियान सञ्चालन गर्दा बल प्रयोग गरिएको भन्दै बुटवलका व्यावसायिक संघ–संस्थाहरूले समेत आपत्ति जनाएका छन्।