जिल्ला, प्रदेश हुँदै राष्ट्रिय सम्मेलन गर्ने निर्णय, फैसलाविरुद्ध पुनरावेदनमा जाने संकेत
कांग्रेसको १४औँ महाधिवेशन पक्षधर राजनीतिक रूपमा अघि बढेको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिए पनि १४औँ महाधिवेशन पक्षधर अर्थात् शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्यहरूको बैठकले फैसलाविरुद्ध पुनरावलोकनमा जान सकिने भएकाले समानान्तर गतिविधि जारी राख्ने निर्णय गरेको हो । त्यसका लागि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय भेलासम्म गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा काठमाडौंमा उपलब्ध १४औँ महाधिवेशन पक्षधर पदाधिकारी, प्रदेश सभापति, केन्द्रीय सदस्यहरू उपस्थित थिए । निवर्तमान पदाधिकारी र सदस्यहरूको बृहत् बैठक बसेर चरणबन्द कार्यक्रम बनाउने बैठकपछि नेता मीन विश्वकर्माले जानकारी दिए । ‘हामी चरणबद्ध रूपमा जिल्ला, प्रदेश हुँदै बृहत् राष्ट्रिय भेला आयोजना गर्नेछौँ । हामीलाई अदालतको फैसला चित्त बुझेको छैन,’ उनले भने, ‘त्यसविरुद्ध पुनरावेदनमा जाने बाटो छँदै छ ।’
पार्टी एकताको विषय विशेष महाधिवेशन पक्षधरको हातमा रहेको भन्दै उनले अन्यथा विभाजनतर्फ जान सक्ने चेतावनीसमेत दिए । ‘महाधिवेशनको दुई कार्यतालिका छ । समायोजन गरेर एउटै बनाउने स्थिति बन्यो भने एकता भएको मानिन्छ । होइन भने दुईवटा महाधिवेशन हुन्छ । पार्टी विभाजतर्फ जान्छ । त्यो नहोस् भनेर सम्बन्धित पक्षलाई एकताको पहल गर्न आह्वान गरेका छौँ,’ विश्वकर्माले भने । बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको फैसलाविरुद्ध पूर्ण इजलासमा जाने बाटो बाँकी नै रहेको बताएका छन् । आफूपक्षीय नेताहरूको बैठकमा उनले भने, ‘अदालतको फैसलाविरुद्ध पूर्ण इजलासमा सुनुवाइका लागि जाने बाटो बाँकी नै छ । पूर्ण आदेश आएपछि त्यो बाटो खुल्छ ।’
खड्काले अदालतको फैसला मान्ने, तर न्याय निरूपण गर्दा लिइएका आधारमा असहमति रहेको बताए । रिट खारेज गर्न अदालतले लिएका आधार मान्न सकिने खालको नभएकाले पुनरावलोकनका लागि जान सकिने संकेत खड्काले गरेको एक नेताले बताए । निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिव हुमागाईं, गुरु बराल र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले छुट्टै पार्टी गठन गरेर जानुपर्ने बताएको एक नेताले जानकारी दिए । उनीहरूले कांग्रेसलाई बिपीकै आदर्शमा फर्काउनुपर्ने बताएका छन् ।
शेखर पक्षको निष्कर्ष– सभापतिको बढी जिम्मेवारी
कांग्रेस नेता डा. शेखर कोइराला पक्षले पार्टीभित्र बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्ने बढी जिम्मेवारी सभापति गगन थापाको भएको निष्कर्ष निकालेको छ । यसका लागि सबैको साझा जिम्मेवारी भए पनि सभापतिको बढी जिम्मेवारी रहने निष्कर्ष निकालेको नेता जीवन परियारले बताए । कोइराला पक्षको बैठक कोइरालानिवासमा आइतबार बसेको थियो । ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढी नै जिम्मेवारी रहन्छ,’ उनले भने ।
फेरि भेट्ने गरी खड्कानिवासबाट बाहिरिए गगन
कांग्रेस सभापति गगन थापाले सर्वोच्च अदालतबाट मान्यता पाएपछि पार्टीको एकताका लागि पहल सुरु गरेका छन् । १४औँ महाधिवेशन पक्षधरको निवर्तमान केन्द्रीय समिति बैठक सकिएलगत्तै आइतबार अबेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग उनकै निवास गोल्फुटार पुगेर उनले छलफल गरेका हुन् । थापाले खड्कालाई फोन गरेर भेटको समय मागेका थिए ।
खड्काले निवासमै बोलाएपछि थापा भेटका लागि गएका हुन् । उनीहरूबिच करिब एक घण्टा कुराकानी भएको छ । थापाले सर्वोच्चको फैसलालाई हारजितका रूपमा नहेरी एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । अब कसरी अगाडि बढ्नेभन्दा पनि विगतको स्मरणमा दुवै नेताले समय खर्चिएका थिए । ‘बिचमा कुराकानी गर्न पाइएन, त्यसका लागि म दुःखी छु । योबिचमा पहिलोपटक भेट भयो । स्थिति अप्ठ्यारो छ । सबैलाई मिलाएर लैजानुपर्नेछ । कसरी जाऊँ,’ भेटमा थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
खड्काले अदालतको फैसलाका आधारहरू सन्तोषनजक नरहेको बताएका थिए । तर, फैसला मानेर जाने उनले स्पष्ट पारेका छन् । उनले कांग्रेस निर्माणको इतिहास स्मरण गराएका छन् । पार्टीमा अग्रज नेताहरूले गरेको त्याग, बलिदान र आफूसमेतले गरेको योगदानबारे खड्काले स्मरण गरेका छन् । पछिल्लो समय देखिएको विवादबारे उनले चिन्तासमेत जनाएका छन् । र, विरासत बोक्नुपर्ने भन्दै थापालाई सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
‘अदालतको फैसलालाई नमान्ने भन्ने हुँदैन । तर, त्यसका आधारहरू सन्तोषजनक छैनन् । आधिकारिक रूपमा मान्यता पाएपछि के सोचेर आउनुभएको छ ? मिलनको प्रस्ताव के छ ? पहिलोचोटि आउनुभएको छ । प्रस्ताव ल्याउनुस् । म साथीहरूसँग छलफल गर्छु,’ खड्काको भनाइ उद्धृत गर्दै उनीनिकट नेता मीन विश्वकर्माले भने । पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सभापतिले पहल सुरु गरेको महामन्त्री गुरुराज घिमिरेले बताए । ‘उहाँहरूको चाहना पनि सभापतिले छलफल गर्नुहोस् भन्ने थियो । सभापतिले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले छलफल गर्नुभएको छ । यो पार्टी सबैको साझा हो । उहाँहरूको पनि योगदान छ । हामी सबैको योगदान छ । मिलेर १५औँ महाधिवेशनमा जाऔँ भन्ने नै हो,’ उनले भने ।
अनुशासन समितिको बैठक आज
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आइतबार बस्दै छ । समिति बैठक सोमबार दिउँसो ३ बजे बस्ने सचिव दिनेश थापामगरले बताए । अनुशासन समितिको २ वैशाखमा बसेको बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सातदिने स्पष्टीकरण सोधेको थियो । उनले अदालतमा आधिकारिकताको विषय विचाराधीन अवस्थामा रहेकाले स्पष्टीकरण नदिने बताएका थिए । महामन्त्री गुरुराज घिमिरेले अदालतको फैसला आएको सन्दर्भमा स्पष्टीकरणको अध्याय समाप्त भएको बताइसकेका छन् । प्राप्त उजुरीमाथि छलफल गर्न बैठक बोलाइएको थापमगरले बताए ।