काठमाडौँ, जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पक्राउ गर्न माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी महानिरीक्षकसमक्ष औपचारिक निवेदन दर्ता गराउँदै पदबाट बर्खास्त गर्दै पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन्।गृहमन्त्री गुरुङमाथि विवादित व्यवसायी दीपक भट्टसँग साझेदारीको आरोप छ। पदमा बहाल रहँदै आफ्नैविरुद्ध अनुसन्धान प्रक्रियाअघि बढाउनु ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भएको भन्दै यसले प्राकृतिक न्यायको सिद्धान्तविपरीत जाने दाबी गरिएको छ।
कानुनी आधार प्रस्तुत गर्दै मुभमेन्टले मुलुकी फौजदारी संहिता तथा कार्यविधिअनुसार गम्भीर आरोप लागेका व्यक्तिलाई निष्पक्ष अनुसन्धानका लागि नियन्त्रणमा लिन सकिने व्यवस्था रहेको जनाएको छ। साथै पदमा बसेर अनुसन्धान प्रभावित पार्ने प्रयास ‘न्यायमा बाधा’ जस्तो कसुर हुन सक्ने पनि उल्लेख गरिएको छ।
यसका साथै, राजनीतिक रूपमा पनि मुभमेन्टले गृहमन्त्री गुरुङमाथि आन्दोलनलाई दुरुपयोग गरेको आरोप लगाएको छ। पानी वितरणजस्ता गतिविधिलाई बहाना बनाई जेनजी आन्दोलनलाई हिंसात्मक दिशातर्फ धकेल्ने, गैरकानुनी गतिविधिमा संलग्न हुने तथा व्यक्तिगत लाभ लिन खोजेको आरोप निवेदनमा उल्लेख छ। यसले आन्दोलनका क्रममा बलिदान दिने शहीद र घाइतेहरूप्रति अपमान भएको मुभमेन्टको भनाइ छ।
मुभमेन्टले गृहमन्त्रीलाई पदबाट हटाउन सरकारलाई सिफारिस गर्ने, तत्काल पक्राउ गर्ने, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने जस्ता चार बुँदे माग अघि सारेको छ।