काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री सुधन गुरुङको राजीनामापछि आफैंले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका उनले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा आउँदो शनिबार र आइतबारबाट बस्ती हटाउने तयारी सुरु गर्न निर्देशन दिएका हुन् ।
अभियानको सुरुवात काठमाडौं उपत्यकाबाट गर्ने तयारी गरिएको उच्च सुरक्षा स्रोतले जानकारी दिए । काठमाडौं महानगरपालिकाका मेयर रहँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारको असहयोगका कारण अभियानले सार्थकता पाउन सकेको थिएन ।
बस्ती हटाउन असहयोग गरेको भन्दै शाहले तत्कालीन सरकारको खुलेर आलोचना गर्ने गर्दथे । उनले तत्कालीन गृहमन्त्री रवि लामिछाने, नारायणकाजी श्रेष्ठ लगायतसँग पनि सुकुम्बासी बस्ती हटाउन सहयोग गर्न भनेका थिए ।
विगतमा पटकपटक काठमाडौंको थापाथली, पेप्सीकोलालगायत क्षेत्रमा रहेका सुकुम्बासी हटाउन खोज्दा झडपको अवस्था निम्तिएको थियो ।