आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज शनिबारदेखि सुरु हुँदैछ।घरेलु टोली नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हुनेछ। दुबै टोलीले यसअघि दुई खेलको टी–२० आई सिरिज खेलेका थिए। जसमा सिरिज १–१ को बराबरीमा टुंगिएको थियो।
नेपाल र यूएई एसोसिएट्सका चीर परिचित प्रतिद्वन्द्वी हुन्। दुई टोलीबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेलमा सफलता प्राप्त गरेको छ।नेपालको उच्च स्कोर २६९ रहँदा यूएईले भने नेपालविरुद्ध ३१० रन बनाएको थियो। कम स्कोरको कुरा गर्दा नेपालले यूएईलाई २०२३ मार्च १२ मा ७१ रनमै अलआउट गराएको थियो भने यूएईविरुद्ध १०३ नेपालको कम स्कोर रहेको छ। उक्त खेल २१ मार्च २०२२ मा यूएईमा भएको थियो।शीर्ष छ भित्र पुग्न नेपालले दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने छ।
यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ।जम्मा २० खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानडालाई पछि पार्न कम्तिमा पाचौँ खेलको जित पर्याप्त हुनेछ भने चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ।
२१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको क्यानडा, २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको नामिबियालाई तथा २८ अङ्कसहित चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई पछाडि पार्न लगातार खेल जित्नुको विकल्प छैन।अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष चारसम्म पुग्न ती आठ खेल नै काफि हुन्छन्।
नेपालले आज यूएईपछि वैशाख १६ गते बुधबार ओमानसँग, वैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ।नेपालले गत नोभेम्बर र अक्टोबरमा भएको श्रृङ्खलामा यूएईसँग दुबै खेल हारेको थियो भने ओमानसँग २०२४ को सेप्टेम्बरमा भएको प्रतिस्पर्धामा दुईमध्ये एक खेलमा पराजय भोग्दा अर्को खेल भने स्थगित भएको थियो।
लिग २ तालिकामा नेपाल २० खेलमा पाँच जितसहित १२ अङ्कका साथ पुछारबाट दोस्रो अर्थात सातौँ स्थानमा छ। नेपालले दुई खेलबाट एक–एक अङ्क बटुलेको छ। स्कटल्याण्ड र ओमानसँगको एक–एक खेल रद्द भएर दुबै टिमले अक बाँडेका थिए।ओमान २४ खेलमा १३ जित र ७ हारसँगै २९ अङ्कसहित तेस्रो स्थानमा छ। यसैगरी नेपाल जतिनै समान २० खेल खेलेको युएई ५ जित र १५ हारका साथ १० अङ्क बटुल्दै तालिकाको पुछारमा छ।
यस्तै ओमान र यूएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ। उक्त श्रृङ्खला वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ।नेपालले वैशाख २९ गते मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ। यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ।
दुबै श्रृङ्खला त्रिवि क्रिकेट मैदानमा हुनेछ। सबै खेल बिहान ९ः३० बजे सुरु हुनेछ। नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुबै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुबै खेलमा पनि नेपाल अमेरिकासँग पराजित भएको थियो।
गत जुनमा भएको श्रृङ्खलामा स्कटल्याण्डसँगको एक खेल जितेको नेपालले अर्को खेल भने पराजय भोगेको थियो। सन् २०२४ को अक्टोबर नोभेम्बरको प्रतिस्पर्धामा १ खेल स्कल्याण्डसँग निराश बन्दा अर्को खेल रद्द हुँदा दुबैले अङ्क बाँडेका थिए।
तालिकामा अमेरिका २४ खेलमा १८ जित र छ हारका साथ ३६ अङ्क जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा १४ जित र आठ हारका साथ ३४ अङ्क जोडेर दोस्रो स्थानमा छ।
स्कटल्याण्डले छ वटा खेलमा एक–एक अङ्क जोडेको छ । तेस्रो स्थानको ओमानसँग २४ खेलमा २९ अङ्क छ भने चौथो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा १३ जित र नौ हारका साथ २८ अङ्क छ। उसको थप दुई अङ्क खेल रद्द हुँदा प्राप्त भएको छ।
यसैगरी नामिबियाले २८ खेलबाट १० जित, दुई खेल नतिजाविहीन र १६ हारका साथ २२ अङ्क बनाएको छ । नामिबिया पाँचौँ स्थानमा छ। क्यानडा २४ खेलमा नौ जित, तीन नतिजाविहीन खेलको तीन अङ्कसँगै २१ अङ्कका छैटौँ स्थानमा छ।
सन् २०२४ को फेब्रुअरीमा त्रिवि मैदानमै लिग २ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले पहिलो खेलमा नामिबियासँग चार विकेटले हार्न पुग्यो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराउन सफल भयो।
तेस्रो खेलमा नामिबियासँग दुई विकेटले पराजित हुँदा चौथो खेलमा नेदरल्याण्ड्सले नेपाललाई आठ विकेटले स्तब्ध पार्यो। यो श्रृङ्खलामा नेपालले मात्र दुई अङ्क जोड्न सक्यो।
सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको चार खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन। उक्त भ्रमणमा क्यानडाले पहिलो खेलमा नेपालमाथि १०३ रनले तथा अर्को खेलमा पाँच विकेटले हरायो।
ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित हुँदा अर्को खेल रद्द भएर टुरमा नेपालको खातामा एक अङ्क मात्र रह्यो।
सन् २०२४ कै अक्टोबर र नोभेम्बरमा अमेरिकाको डल्लासमा भएको अर्को श्रृङखला पनि नेपालका लागि त्यत्ति सुखद रहेन। नेपालले यो टुरबाट तीन अङ्क बटुल्यो।
स्कटल्याण्डसँगको खेल नतिजावीहिन हुँदा नेपालले त्यसबाट एक अङ्क पायो भने अर्को खेलमा स्कटल्याण्डलाई नै पाँच विकेटले हरायो।
अमेरिकाले भने दुबै खेल आफ्नो पक्षमा पार्यो। अमेरिकाले नेपालमाथि पहिलो खेलमा ३७ रन तथा अर्को खेलमा तीन विकेटको जित हात पार्यो।
सन् २०२५ को जुनमा स्कटल्याण्डमा भएको श्रृङ्खला नेपालका लागि सुखद रह्यो। खेलेका चार खेलमा तीन खेल जित्दै नेपालले ६ अङ्क बटुल्यो।
नेपालले आयोजक स्कटल्याण्डलाई पहिलो खेलमा एक विकेटले हरायो भने अर्को खेलमा स्कटल्याण्डसँग दुई रनले हार्न पुग्यो। यी दुबै खेलमा अन्तिम बलले जित र हारको निर्णय गरेको थियो। यो टुरमा नेदरल्याण्ड्स दुबै खेलमा नेपालसँग पराजित भयो। पहिलो खेलमा पाँच विकेट र दोस्रो खेलमा १६ रनले नेपाल विजयी भयो।
सन् २०२५ को अक्टोबर–नोभेम्बरमा यूएईमा भएको श्रृङ्खला नेपालका लागि निराशाजनक रह्यो। यूएई र अमेरिकासँगका सबै खेल नेपालले हार्न पुग्यो। यूएईले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पाँच विकेटले नेपाललाई हरायो। यस्तै अमेरिकाले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा १०६ रनले नेपाललाई स्तब्ध पार्यो।
क्यानको नयाँ अभ्यास
यसपटकको खेलमा नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भूर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामीछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ अभ्यास गर्दै पहिलोपटक टी २० र एकदिवसीय टिमका लागि फरक कप्तान नियुक्त गरेको छ। नियमित कप्तान रोहित पौडेलले टी २० टीमको कप्तानी मात्रै गुमाएनन्, यूएईसँगको दुई खेलको टी–२० आई सिरिजमा स्क्वाडबाटै हटाइए।
यता, एकदिवसीयमा कुशल र आसिफकै ओपनिङ जोडी कायम रहेको छ भने वैकल्पिक ओपनरमा अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् । तेस्रो स्थान ‘एक दिवसीय विशेषज्ञ’ मानिएका भीम सार्कीले ओगट्ने छन् भने उनीपछि रोहित, दीपेन्द्र, आरिफ, बसिर, गुलशन लगायत छन् । उनीहरू सबैले एकैपटक भने पालो नपाउन सक्छन् ।
एकदिवसीयमा नेपालको फास्ट बलिङ सोमपाल र करणको अनुभवी जोडीले धान्ने छ । विशेषज्ञ स्पिनरमा सन्दीप र ललित राजवंशी टिममा छन् । उनीहरुलाई दीपेन्द्र, कुशल, रोहित, बसिर लगायतले साथ दिन सक्छन् ।