काठमाडाैँ, राष्ट्रिय परीक्षा बोर्ड गत पुसदेखि अध्यक्षविहीन छ । एसइईदेखि कक्षा ११ र १२ सम्मको परीक्षा सञ्चालन गर्ने कार्यालयको नेतृत्व नै नहुँदा कतिपय समन्वयकारी काममा समस्या भएको छ । तर, बोर्डको अध्यक्षका लागि शिक्षा मन्त्रालयका प्रतिनिधिसमेतको संलग्नतामा लोकसेवा आयोगले सिफारिस गरेका व्यक्तिको नाम भने तीन महिनादेखि शिक्षा मन्त्रालयको दराजमै थन्क्याइएको छ ।
यसअघिका अध्यक्ष महाश्रम शर्माको कार्यकाल गत पुसको पहिलो साता सकिएको थियो । त्यसपछि लोकसेवाको प्रक्रियाअनुसार नै बोर्डको अध्यक्ष छनोट भइसकेको छ । तर, छनोट भएको नाम मन्त्रालयको दराजमा गुपचुप राखिएको स्रोतले बतायो ।
‘सबै प्रक्रिया पूरा गरी सर्टलिस्टबाट समेत नाम छनोट गरेर लोकसेवा आयोगले शिक्षा मन्त्रालयलाई पत्र बुझाएको झन्डै तीन महिना भइसक्यो । लोकसेवाको सिफारिससमेत कार्यान्वयन नहुनु राम्रो होइन,’ परीक्षा बोर्डका एक कर्मचारीले भने, ‘बोर्डको अध्यक्ष नहुँदा समन्वयात्मक तथा निर्णयका कतिपय काममा असहज भएको छ, यस विषयमा हामीले शिक्षा मन्त्रालयलाई पनि जानकारी गराइरहेका छौँ ।’
बोर्ड अध्यक्षका लागि शिक्षा मन्त्रालयले गत १० पुसमा विज्ञापन खुला गरेको थियो । जसमा १३ जनाको आवेदन परेको थियो । ८ माघमा लोकसेवा आयोग र शिक्षा मन्त्रालयले सर्टलिस्ट तयार ग¥यो । सर्टलिस्टमा पुष्पराज जोशी, कृष्णप्रसाद आचार्य, बाबुराम खनाल, जगतकृष्ण पोखरेल, रामचन्द्र पाण्डे, राजेन्द्र चापागाईं र राजेन्द्र पोखरेल गरी सातजना परेका थिए । त्यसमध्ये सबैलाई ८ माघमा डेढ घण्टाको अवधारणापत्र प्रस्तुति गर्न लगाइएको थियो । त्यसको भोलिपल्ट ९ माघमा अन्तर्वार्ता भएको थियो । उक्त अन्तर्वार्तामा पनि शिक्षा मन्त्रालय र लोकसेवाका प्रतिनिधि थिए ।
अन्तर्वार्तापछि तीनजना छनोट गरेर लोकसेवाले १४ माघमा शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो । तीनमध्ये एकजनालाई मन्त्रालयले अध्यक्षमा नियुक्ति गर्ने अभ्यास छ । तर, उक्त सिफारिसपत्र तीन महिनादेखि शिक्षा मन्त्रालयको दराजमै थन्किएको छ ।