काठमाडौं,पुनर्स्थापित संसद्का समितिलाई सक्रिय र प्रभावकारी बनाउन सभामुख अग्नि सापकोटाले परामर्श गरेका छन् । सभामुख सापकोटाले आइतबार आगामी कार्ययोजनाबारे समिति सभापतिहरूसँग परामर्श गरेका हुन् । संसद् पुनर्स्थापनापछि सभामुखले समिति सभापतिहरूसँगगरेकोयोपहिलोपरामर्शहो प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिलाई बोलाएका सभामुखले समितिमा प्राप्त भएका विधेयकको अवस्था र कामकारबाहीबारे छलफल गरेका थिए । सभापतिहरूले विभिन्न समितिमा भइरहेका कामकारबाहीबारे सभामुखलाई जानकारी गराएका थिए ।
उनीहरूले सदन जति धेरै सक्रिय हुन्छ, त्यसैअनुसार समितिले पनि काम गर्ने बताएका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले विधेयकको अवस्थालगायतका विषयमा सभामुखसँग छलफल भएको बताइन् । ‘संसद् पुनस्र्थापना भएपछि सभापतिहरू एकै ठाउँमा बसेर छलफल भएको थिएन, त्यसैकारण भेटघाट गरेको हो । समितिमा विधेयकहरू के–कति छन्, भएका विधेयकमा के–कति काम भएको छ भन्ने सन्दर्भमा छलफल भयो । समिति सञ्चालनमा समस्या छन् कि भन्ने सन्दर्भमा पनि कुरा उठ्यो,’ उनले भनिन् ।
सभापतिहरूले आन्तरिक व्यवस्थापनको विषयलाई पनि प्राथमिकताका साथ उठाएका थिए । अध्ययन÷अनुगमनका लागि आर्थिक समस्या हुने गरेको, कानुन निर्माणबारे विज्ञको अभाव रहेको विषयसमेत बैठकमा उठेको थियो । संघीय संसद्को बजेट नै कम रहेकाले त्यसमा पनि ध्यान दिन सभापतिहरूले सभामुखसँग आग्रह गरेका थिए ।
बैठकमा संसद्को क्यान्टिनको समस्याले समेत प्रवेश पाएको थियो । ‘क्यान्टिनमा एकदमै समस्या छ । गेस्ट आउँदा चिया मगायो, एक घन्टापछि मात्रै आइपुग्छ,’ शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीलेभनिन् ।समिति सभापतिहरूले उठाएका समस्याहरूमाथि सभामुखले सबै पक्षसँग आवश्यक छलफल गर्ने बताएका थिए । ‘बैठकमा उठेका विभिन्न विषयमाथि सभामुखज्यूले महासचिवसँग बसेर म छलफल गर्छु भन्नुभएको छ । त्यस्तै, मन्त्रीज्यूहरूसँग पनि कुराकानी गर्ने भन्नुभएको छ,’ सभापति खरेलले भनिन् ।
सभामुखले समितिको कामकारबाहीबारे जानकारी लिएका थिए । शिक्षा समिति सभापति घर्तीले भनिन्, ‘समितिहरूले के गर्दै छन् भन्ने उहाँको चासो थियो । समितिमा रहेका विधेयकबारे सोध्नुभएको थियो । हामीले हाम्रो ‘स्ट्याटस’बारे जानकारी गरायौँ ।’ सभामुख सापकोटाले आइतबारको भेटघाटपश्चात् पुनः छिट्टै अर्काे बैठक बस्ने पनि बताएका थिए । सभामुख सचिवालयको भनाइ छ, ‘सदन, समितिहरूलाई प्रभावकारी ढंगले अघि बढाउन सभामुखज्यू खटिरहनुभएको छ ।’