संवैधानिक परिषद् बैठकमा भाग नलिने कांग्रेसको निर्णय
काठमाडाैँ, नेपाली कांग्रेसले संवैधानिक परिषद बैठकमा भाग नलिने निर्णय गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी बैठकमा भाग नलिने जानकारी दिएका हुन् ।लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारबाहीको अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य स्वतन्त्र र निष्पक्ष हुनु पर्नेमा उनले जोड दिएका छन् ।तर, वर्तमान सरकार संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गरी यसको कार्य क्षेत्रलाई संकुचित गरी पटक पटक संघीय संसदलाई छले अध्यादेश जारी गरी संवैधानिक परिषद् सम्बन्धि ऐनलाई संशोधन गर्ने कार्य गरेको प्रति कांग्रेसले विरोध गर्दै आएको उनले बताए ।
अहिलेको अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको र यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको उनले दाबी गरे कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका मार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएको भन्दै देउवाले सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढंगले अध्यादेश जारी गरेको बताए ।
अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित भएको भन्दै उनले नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताए ।