नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आफूसँग भएको जिप सिन्धुपाल्चोकका कोरोना संक्रमितलाई अस्पताल लैजान-ल्याउन प्रयोगका लागि दिने घोषणा गरेका छन्।बस्नेतले फिर्ता गर्न नपर्ने गरी जिप दिन लागेका हुन्। उनले एक वर्षसम्म उक्त जिप सञ्चालनका लागि चालकको तलव, भत्ताका साथै इन्धन खर्चसमेत व्यवस्था गर्ने गरी जिप दिने निर्णय गरेको बताए।‘जुनसुकै असल कामको थालनी आफैँबाट हुनुपर्दछ भन्ने सबैलाई थाहा छ, मलाई पनि,’ उनले भनेका छन्, ‘मसँग भएको एउटा जिप सिन्धुपाल्चोकमा कोभिड –१९ या अन्य रोग लागेका बिरामीहरूलाई अस्पताल पु¥याउन प्रयोग गर्न दिने निर्णय गरेको छु।’
उक्त जिप आफूलाई फिर्ता गर्नु नपर्ने उनको भनाइ छ।जिप मैले फिर्ता नलिने गरी दिने हो। कोरोना महामारीमा ध्यान राखेर एक वर्षसम्म जिप सञ्चालन खर्चसमेत व्यवस्था गरिनेछ। बिरामीले कुनै पनि सेवा शुल्क तिर्नुपर्दैन। सञ्चालक समिति बनाएर यी सबैको व्यवस्थापन गरिनेछ,’ उनले भनेका छन्।उनले छिट्टै उक्त जिप हस्तान्तरण गर्ने बताए।
सिन्धुपाल्चोकमा बिरामी बोक्ने गाडीको समस्या पर्दै आएको छ। गत वर्ष बाह्रविसे नगरपालिका वडा नम्बर ९ की एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।त्यसबेला पनि गाडी र उपचारको व्यवस्था समयमै हुन सकेको थिएन।उक्त महिलाकी ९ दिने शिशुलाई आफूले त्यसबेला पौष्टिक आहारका लागि एक लाख रूपैयाँ अभिभावकलाई दिएको र उसको पठनपाठन र भविष्यमा रोजगारीको प्रवन्धकोसमेत आफूले जिम्मेवारी लिएको बस्नेतले उल्लेख गरेका छन्।