काठमाडाैँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाभाइरस संकट टार्न नेपालीहरूलाई सहयोग गर्न मित्रराष्ट्र र विदेशस्थित नेपाली नियोगहरूसँग अपिल गरेका छन्।पौडेलले नेपालमा तीव्र रूपमा कोरोना भाइरस संक्रमण फैलिइरहेको र मुलुकको स्वास्थ्य संरचनाले धान्नै नसक्ने देखिएको भन्दै सहयोगको अपिल गरेका हुन्।उपचार नै नपाएर दिनहुँ कोरोना संक्रमितको मृत्यु भइरहेको पौडेलको भनाइ छ।
अहिले देखिएको कोरोना संकट देशको आफ्नै बलबुताले पार लगाउन सक्ने अवस्था नदेखिएको पौडेल बताउँछन्।उनले यो कुरा आज फेसबुकमा लेख्दै भनेका छन्– मित्र राष्ट्र, विदेशस्थित नेपाली नियोग, दातृ निकायलगायतलाई यो विकराल अवस्थाबाट जोगाउन अपिल गर्दछु।
यस्तो छ पौडेलको अपिलः
कोरोना संक्रमण तीव्र रुपमा फैलिएको कारण हाम्रो देश नेपालको अवस्था अहिले विकराल बन्दै गएको छ।हामी अहिले आफ्नो स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुगेका छौं।अक्सिजन र अस्पतालको अभावमा संक्रमितहरुले उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेको छ।यो विकराल अवस्थाबाट नेपाललाई जोगाउनका लागि म हाम्रा मित्रराष्ट्र, विदेशस्थित नेपाली नियोगहरु, नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, सहयोगी भावना भएका मित्र तथा नागरिकलाई हार्दिक अपिल गर्दछु।नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बल बुताले पार पाउने अवस्था नदेखिएकाले नेपाली जनताको जीवन रक्षाका लागि मानवियताका आधारमा नेपालीलाई सहयोग गर्नका लागि म हार्दिक अपिल गर्दछु।