काठमाडौं, नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे ।सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केकालागि गर्दैछ यो सब ?’पछिल्लो समय केपी शर्मा ओली र माधव नेपाल दुवैको गुटमा स्पष्ट नदेखिएर आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका भट्टराईले संवादहीनता तोडेर साझा संकल्प गरे पार्टी एकता सम्भव रहेको बताएका छन् ।