काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले जनता समाजवादी पार्टी (जसपा) को विवादमा आयोगले गरेको निर्णयबाट आयोग सरकारको कठपुतली भएको पुष्टि हुने टिप्पणी गरेका छन् ।‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो’ उनले भने ।
नेता श्रेष्ठले अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण निर्वाचन आयोगको नेकपासम्बन्धी निर्णय पनि भएको बताए ।उनले राजनीतिक दलहरुले आयोगको यस्ता कदमको विरोध गर्नुपर्ने भन्दै आफ्नो स्वार्थ वा हित नजोडिँदासम्म नबोल्ने स्थिति अन्त्य गर्नुपर्ने बताए ।‘राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ’ उनले भने ।
जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बहुमतबाट अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी निर्वाचन आयोगमा जसपाको दर्ता किताबमा रहेको विवरण सच्याउन पत्राचार गरेका थिए ।
त्यस्तै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले पनि यादवलाई निष्कासन गरेको भन्दै आयोगमा पत्र दिएका थिए, उनले भने कार्यकारिणी समितिको बहुमत जुटाउन सकेका थिएनन् । तर यो विवादमा निर्वाचन आयोगले दुवै पक्षको दावी नपुग्ने भन्दै निष्कासनको कारबाही अमान्य हुने निर्णय सुनाएको थियो ।