काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा ओलीले मानवको शारीरिक स्वास्थ्य मात्र होइन, समाजलाई सांस्कृतिक, नैतिक र चारीत्रिक रूपले सबल राख्नसमेत योग आवश्यक रहेको बताए ।
‘योग फर वेल विइङ’को नारासहित विश्वभर सोमबार अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । ओलीले सांस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेकोसमेत बताए । ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड– १९ त एक–डेढ वर्षमा पार होला, तर सामाजिक र सांस्कृतिक अधपतनको महामारीले चल्यो भने कैयौँ पिँढीसम्म दुःख पाइनेछ,’ उनले भने ।अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल हेरिनसक्नु हुन्छ ।’
योग गुरुहरूले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्ने उनले बताए । योगका आठ अंगमध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो सत्यप्रतिको निष्ठा र असत्यलाई अस्वीकार गर्नु भएको उनको भनाइ थियो । ‘सत्यमा अडिग रहुँ । सत्यको निष्ठापूर्वक पालना गर, असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यसविरुद्ध लड । यमले सही भन्छ,’ ओलीले भने ।आफ्नो वैधानिक र न्यायिक दाबी पुग्नेबाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने ओलीको भनाइ छ । अरस्तुले सत्यकै लागि प्राण त्याग गरेको प्रसंगसमेत उनले उठाए ।