चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी समारोहमा राष्ट्रपति शी जिनपिङले आफ्ना विरोधीलाई कडा शब्दमा चेतावनी दिएका छन् । बिहिबार आयोजित भव्य समारोहमा जिनपिङले भने, ‘चीन अब कसैबाट पनि दबिने छैन । चीन अब कुनै पनि विदेशी शक्तिलाई हामीमाथि दबाब बनाउन र हामीलाई अधिनमा राख्न कुनै पनि प्रयास गर्न दिनेछैन ।’

करिब ७० हजार दर्शकको उपस्थितिमा जिनपिङले सो कुरा बताएका हुन् । उनको यस्तो भनाई पछि समारोह स्थल तालीले गुञ्जायमान भएको थियो । राष्ट्रपति शी चिनफिङको यो बयानलाई अमेरिका र चीनको हालको तनावसँग जोडेर हेरिएको छ ।यद्यपि, अमेरिकामात्रै होइन संसारका थुप्रै अन्य देशले हङ्गकङको मामिलामा चीनको व्यवहारको आलोचना गरेका थिए । त्यतिबेला चीनले हङ्गकङलाई आफ्नो आन्तरिक मामिला बताउँदै त्यसको खण्डन गरेको थियो ।

जुलाई महिनाको १ तारिखमा चीन कम्युनिष्ट पार्टी (सीसीपी) आफ्नो स्थापनाको सय वर्ष मनाइरहेको छ । यो अवसरमा बोल्दै चिनियाँ राष्ट्रपति शीले भने, ‘कसैलाई पनि चिनियाँ जनताको बलियो इच्छाशक्ति, उद्देश्य र बेजोड शक्तिलाई कम आँक्न अधिकार छैन । यदि कुनै विदेशी शक्तिले यस्तो गर्ने प्रयास गर्छ भने चीनका १.४ अर्ब जनताको एकीकृत शक्तिसँग उसले जुध्नुपर्ने हुन्छ ।’
चिनफिङले आफूले कसैलाई पनि नदबाएको, न नै कुनै अन्य देशका नागरिकलाई आफ्नो अधिनमा राख्ने प्रयास गरेको बताए । उनले भविष्यमा पनि यस्तो कदापी नगर्ने स्पष्टिकरण दिए । माओ त्सेतुङपछि चीनका सबैभन्दा शक्तिशाली नेताको रुपमा उभिएका राष्ट्रपति शी जिनपिङले सधैं शान्ति, विश्वव्यापी विकास र अन्तर्राष्ट्रिय व्यवस्थालाई सुरक्षित राख्नका लागि काम गर्दै आएको बताए ।


















