काठमाडौं, पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव कीर्तिपुर निवासी रमिला आचार्यको छ ।
पहिले दुई÷तीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ । कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहेका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको अनुभव सुनाए ।उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताए । सुवेदीले तरकारीको भाउ छोइसक्नु छैन । निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगिएको बताए ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।