काठमाडाैँ, नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्रीको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गरेको भनेर प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।शनिबार सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रचलन गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गरेको र मन्त्रालयबाट एकजनाको पनि सिफारिस नगरेको बताए ।
तर, प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।उनले लेखेका छन्, ‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइनेछैन भन्ने संशोधन प्रस्ताव राखेँ।
यो संशोधन संसद्ले स्विकार्दै बनेको कानुन २०७५असोज २ गतेदेखि लागू भयो कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन। प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्वप्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’