काठमाडौं, नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारलाई जथाभावी लोकप्रिय कार्यक्रमको घोषणा नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद महतले अघिल्लो सरकारले गरेको लोकप्रिय कार्यक्रमको घोषणाका कारण सांसदले लोगो लुकाएर हिँड्नुपरेको जिकिर गरे । ‘माननीय मन्त्री र सरकारले गर्दा हामीलाई कस्तो अवस्था भएको छ भने हामी लोगो लुकाएर हिँडनुपर्ने अवस्था छ । तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन सभामुख महोदय, अहिले हामी बाटोमा लोगो लुकाएर हिँड्छौं’ उनले भने, ‘यो सरकारलाई त्यो ज्ञात होस्, यो जानकारी होस् ।’
वर्तमान मन्त्रीले पनि गरीबलाई निः शुल्क विजुली दिने घोषणा गरेकामा सांसद महतले असन्तुष्टि जनाए । ‘झट्ट हेर्दा यो शब्द लोकप्रिय जस्तो लाग्छ, तर यो कालान्तरमा जिब्रोको पासो हुन्छ’ उनले भने, ‘किनभने खनखन पैसा दिउँला हामीलाई बत्ती चाहियो भन्दा त कर्णालीमा बत्ती पुगेको छैन, निःशुल्क विजुलीको कुरा नगर्दा राम्रो होला ।’
सांसद महतले एउटा गफाडी सरकारलाई भर्खर विदा गरेको भन्दै अर्को सरकार पनि गफाडी हुने चिन्ता लागेको बताए ।