काठमाडाैँ,वरिष्ठ नेता माधवकुमार नेपालले नेता–कार्यकर्ताको सुरक्षाका लागि पार्टी निर्णयमा आफ्नो समूहको हस्ताक्षरलाई वैधानिक रूपले व्यवस्था गर्नुपर्ने विषयलाई एकताको ‘बटमलाइन’ बनाएका छन् । तर, नेपालको यस्तो ‘बटमलाइन’ स्विकार्न एमाले अध्यक्ष केपी ओली अनिच्छुक देखिएका छन् ।
नेपाललाई दोस्रो अध्यक्षसम्म स्विकार्ने, तर बराबर अधिकारको वैधानिक व्यवस्था केन्द्रीय कमिटी बैठकले स्विकारे मात्र विधान संशोधन गर्ने पक्षमा ओली देखिएका हुन् । शुक्रबार उपमहासचिव विष्णु पौडेलसँगको भेटमा वरिष्ठ नेता नेपालले अर्को अध्यक्षको पद स्विकार्दा गलत सन्देश जाने भन्दै पार्टी निर्णयपुस्तिकामा आफू या आफ्नो समूहका कुनै प्रतिनिधिको हस्ताक्षरलाई विधानमा अनिवार्य व्यवस्था हुनेसहितको सहमतिको खाका लिएर आए ओलीसँग वार्तामा बस्न तयार रहेको जवाफ दिएका थिए ।
ओली गरम, नेपाल नरम
वारपारमा पुगेको विवाद मिलाउन दोस्रो तहका नेताहरूको दौडधुप चलिरहेका वेला अध्यक्ष ओलीले भने एकताको वातावरण बिथोलिने अभिव्यक्ति दिएका छन् । आन्दोलनविरोधी देशद्रोही माधव नेपाललाई एमालेमा कुनै ठाउँ नरहेको ओलीको भनाइ छ ।
‘बाटो बिराएका साथीहरू, मुख्य–मुख्य अपराधीबाहेक अब माधव नेपालजस्ता आन्दोलनविरोधी, देशद्रोहीहरूलाई यस पार्टीमा कुनै ठाउँ हुन सक्दैन । वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गरेर भोट हाल्ने र आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जनालाई बाहिर लिएर गएर सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकारलाई पछाडिको बेन्चमा बसेर, पछाडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानीपूर्ण ढंगले समर्थन दिने, योभन्दा निर्लज्ज, प्रतिगामी र प्रतिक्रियावादीको दलालीको काम अरू के हुन सक्छ ? यस्ता प्रतिक्रियावादीका मतियारलाई पार्टीमा ठाउँ छैन,’ ओलीले भने ।
माधव नेपाल
यसको ठीकविपरीत शनिबार आयोजित अखिल फोर्सको भेलामा नेता नेपाल भने नरम शैलीमा प्रस्तुत भए । राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिमा प्रवेशै नगरेका नेपालले अधिकांश समय युवा–विद्यार्थीलाई अध्ययनशील हुन, सत्यका पछाडि लाग्न, अनुशासित बन्न ध्यानाकर्षण गराए । उनले अखिल फोर्स बनाएकोमा घुमाउरो तरिकाले असन्तुष्टि मात्र जनाएनन्, फेरिएको परिस्थितिमा जुध्नेभन्दा पनि त्यस्ता संगठनहरू स्वयंसेवी भूमिकामा देखिनुपर्नेमा जोड दिए ।
‘यो फोर्स भन्दाखेरि कतिपय मान्छेलाई पर्छ, कतै यसले मुड्की हिर्काउने त होइन, बंगारा भत्काउने त होइन भन्ने डर पनि हुँदोरहेछ । त्यसकारण अहिले अवस्था फेरिएको छ भने यो फोर्सको नाम फेरेर तपाईंले भोलन्टियर्स भन्दिएर हुन्छ कि, स्वयंसेवक भन्दिएर हुन्छ कि, यसमा गहन चिन्तन गर्नुस्’, अखिल फोर्सको भेलामा नेपालले भने, ‘एउटाले यस्तो बनायो, हामी पनि के कम, एउटाले आँखा त¥यो हामी पनि के कम, तर्सेर मैदान छाडेर भाग्ने नै भन्ने त हुँदैन । तर, हामीले निहुँ खोज्ने, बिच्क्याउने काम गर्नुहुन्न । गलत कुराको सामना गर्ने आँट गर्नुपर्छ, तर सही तरिकाबाट अगाडि बढ्नुपर्छ ।’
नेपालको हस्ताक्षरको बटमलाइनमा ओली अनिच्छुक
वरिष्ठ नेता माधवकुमार नेपालले नेता–कार्यकर्ताको सुरक्षाका लागि पार्टी निर्णयमा आफ्नो समूहको हस्ताक्षरलाई वैधानिक रूपले व्यवस्था गर्नुपर्ने विषयलाई एकताको ‘बटमलाइन’ बनाएका छन् । तर, नेपालको यस्तो ‘बटमलाइन’ स्विकार्न एमाले अध्यक्ष केपी ओली अनिच्छुक देखिएका छन् ।
नेपाललाई दोस्रो अध्यक्षसम्म स्विकार्ने, तर बराबर अधिकारको वैधानिक व्यवस्था केन्द्रीय कमिटी बैठकले स्विकारे मात्र विधान संशोधन गर्ने पक्षमा ओली देखिएका हुन् । शुक्रबार उपमहासचिव विष्णु पौडेलसँगको भेटमा वरिष्ठ नेता नेपालले अर्को अध्यक्षको पद स्विकार्दा गलत सन्देश जाने भन्दै पार्टी निर्णयपुस्तिकामा आफू या आफ्नो समूहका कुनै प्रतिनिधिको हस्ताक्षरलाई विधानमा अनिवार्य व्यवस्था हुनेसहितको सहमतिको खाका लिएर आए ओलीसँग वार्तामा बस्न तयार रहेको जवाफ दिएका थिए ।