काठमाडाैँ,यो वर्ष मनसुनी वर्षाका कारण बाढी पहिरोले २ अर्ब १६ करोड रुपैयाँ बराबरको राजमार्गका सडक र पुलमा क्षति भएको छ । संसद्को विकास तथा प्रविधि समितिमा आइतबार देशभरका सडक तथा पुलमा भएको क्षतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण प्रस्तुत गरेको गरेको हो ।
मन्त्रालयका अनुसार यो वर्षको मनसुनका कारण अरनिको राजमार्गमा मात्रै १ अर्ब ८० करोड रुपैयाँ बराबरको सडक तथा पुलमा क्षति भएको छ । अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सडक कटान भएकाले सडक मर्मतमा समेत चुनौती रहेको सडक विभागले जनाएको छ । सडक विभागले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १४ हजार ९ सय १३ किमी लम्बाइका ८० वटा राजमार्गमा १ सय भन्दा धेरै स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भएको जनाएको छ ।
बेंसीशहर चामे सडक डेढ महिनादेखि अवरुद्ध भएकोमा ६५ किमी सडक मध्ये अब १३ किमी सडक बनाउन बाँकी रहेको र दसैँअघि सम्पन्न गर्ने विभागले बताएको छ ।वर्षाका बेला राजमार्गको यातायात अवरुद्ध भएको अवस्थामा आपत्कालीन बाटो मर्मतका लागि २०५ वटा डोजर, एक्स्काभेटर लगायतका निर्माण उपकरण परिचालन गरिरहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । उनले आपत्कालीन सडक निर्माणका लागि ३३ वटा सडक डिभिजन कार्यालयबाट इन्जिनियर हेल्पर लगायतका जनशक्ति तैनाथ गरेको पनि जानकारी दिए ।
यस्तै सडक विभागले आफ्नो वेबसाइटमा कुन कुन राजमार्ग अवरुद्ध भएको छ त्यसको लाइभ जानकारी दिने व्यवस्था गरेको पनि उल्लेख गरे । राजमार्गमा जथाभाबी शाखा सडक निर्माण, भारी वर्षा, पहिरो, कमजोर भूबनोट, जलवायु परिवर्तन आदी कारणबाट सडक अवरुद्ध हुने गरेको सडक विभागको भनाई छ । बझाङमा अवरुद्ध भएको सडक खोल्ने काम गरेको र लमजुङ बेसीशहरदेखि मनाङको चामेसम्मको सडक खुलाउने काम भएको सडक विभागको भनाई छ । चामे सडकमा ५ वटा काठे पुल बगाएको र स्थानीयलाई अस्थायी पुल बनाउन दिइएको छ ।
साँफेबगर मार्तडी सडकमा ३ किमी सडक पहिरो गएकोले तत्काल सडक मर्मत गर्न सम्भव नभएको विभागको भनाइ छ । यो वर्ष हिउँदमा सरकारले ३ सय जना इन्जिनियर थपिदिएकोले अब जनशक्तिको अभाव नहुने उनको भनाइ थियो ।
२४ पक्की पुल बगे, राजमार्गमा ३५ स्थानमा ठूलो क्षति
बाढी र पहिरोको कारण राजमार्गका २४ पक्की पुलमा पूर्ण रूपमा क्षति भएको छ भने राजमार्गका ३५ स्थानमा ठूलो क्षति भएको छ । मुग्लिङ नारायणघाट सडकका ४ स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ । पुनःस्थापना गर्न ८ करोड लाग्ने सडक विभागको अनुमान छ । यस्तै पृथ्वी राजमार्गका ३ स्थानमा टेवा पर्खाल भासिएको, लेदो गेग्रानले कलभर्ट थुनिएको, सडक भासिएको र मर्स्याङ्दी नदीले सडकको किनारा बगाउँदा सडक अवरुद्ध भएको छ । यो राजमार्गमा सडक पुनःस्थापनाका लागि ८ करोड लाग्ने अनुमान गरिएको छ ।
देशका राजमार्गहरूमध्ये सबैभन्दा धेरै अरनिको राजमार्गमा क्षति भएको छ । अरनिको राजमार्गका २६ स्थानमा सडक तथा पुलमा क्षति पुगेको छ । यो राजमार्गमा मात्रै २ अर्ब ६ करोड पुनःस्थापना गर्न लाग्ने अनुमान गरिएको छ । यो राजमार्गको कोठे, जुरे, कल्लेरी, महाभीर, खुर्सानी बारी, सिरिसे, खग्दोल, जम्बु, बसेरी, नयाँ पुल, बञ्जी पुल, बुल्कोटे, झ्याले भीर, चाकु, लार्चा पुल, लिपिङका २ स्थानमा गरी २६ स्थानमा पहिरो, नदी कटान तथा पुलमा क्षति पुगेको छ ।
यस्तै खोड्पे बझाङ सडकका ४ स्थानमा क्षति पुगेको छ । सो सडक खण्डमा पहिरोको कारण सडकमा लगाइएको ढुङ्गाको पर्खाल भत्किएको, सेती नदीले सडक कटान गरेको, सडकमा ढुङ्गाले लगाएको टेवा भत्काएको कारण सडक अवरुद्ध भएको छ । सो सडक पुनःस्थापनाका लागि ३ करोड खर्च हुने अनुमान गरिएको छ ।
उता साँफेबगर मार्तडी सडक खण्डमा पहिरो र नदी कटानले पुरै पहाड खसेका कारण साँफेबगर मार्तडी ओमकोट सडक प्रभावित भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तरगत पर्वत–वाग्लुङ–बुर्तिबाङ सडक खण्डका ४ स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ । यो खण्डमा निर्माणका लागि ४ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस्तै त्रिभुवन राजपथ अन्तर्गत बुलबुले भन्ने स्थानमा राप्ती नदीको कटानका कारण ५० मिटर टेवा पर्खाल र स्ल्याब पर्खाल बगाएको छ । सो क्षेत्रमा निर्माणका लागि २ करोड लाग्ने अनुमान गरिएको छ ।
यो वर्षको मनसुनबाट सिर्जना भएको बाढी पहिरोबाट २४ वटा पक्की पुल पूर्ण रूपमा क्षति भएको छ । राताेपाटीमा खवर छ ।