spot_img

दार्चुला घटनाः ‘भारतको सुनियोजित ज्यादती’

spot_img

काठमाडौँ, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइनको लट्ठा फुस्काएर दार्चुलाका एक युवक महाकालीमा बेपत्ता भएको घटनाप्रति सांसदहरूले भर्त्सना गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ता र प्रतिपक्षी सांसदले सीमा क्षेत्रमा भारतले पटक–पटक हेपाहा व्यवहार देखाउँदै आएको भन्दै उसको नियतमाथि नै प्रश्न उठाए । उनीहरूले सरकारले भारतसँग तत्काल वार्ता गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले सत्यतथ्य छानबिन गर्न र बेपत्ताको परिवारलाई राहत दिन माग गरे । शुक्रबार सदरमुकाम जाने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटको तुइन तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेका थिए । धामी तर्दै गरेका बेला एसएसबीले तुइन फुस्काइदिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

सत्तारूढ कांग्रेसकी संसदीय दल सचेतक तथा सांसद पुष्पा भुसालले दार्चुला घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिइन् । घटना भएको जिल्लाका कांग्रेसका सांसद दिलेन्द्र बडूले घटना दुई मुलुकबीचको सम्बन्धसँग जोडिएको उल्लेख गर्दै उचित छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए । छानबिनका लागि कूटनीतिक तहबाट पहल गर्नुपर्ने जनाउँदै उनले घटनालाई राजनीतिक रङ नदिन आग्रह गरे ।

कांग्रेस सांसद गगनकुमार थापाले भारतीय पक्षले दार्चुला घटनामा एसएसबीको संलग्नता नरहेको भनाइ सार्वजनिक गरेको प्रसंग जोड्दै त्यसको आधिकारिकता थाहा पाउनुपर्ने माग गरे । उनले भने, ‘भारतले आधिकारिक रूपमा संलग्न छैन भनेकाले नेपालको छानबिन समितिलाई भारतले कस्तो सहयोग गर्ला ?’ कांग्रेस सांसद देवेन्द्रराज कँडेलले भारतीयले तुइन फुस्काइदिएर नेपाली युवकले ज्यान गुमाउनुपरेको घटनाबाट सबै नेपाली मर्माहत भएको बताए । उनले घटना सुनियोजित रूपमा गराइएको बताए । कांग्रेसकी डिला संग्रौलाले बेपत्ता भएका युवकको परिवारलाई राहत दिनुपर्ने बताइन् । माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले यस विषयमा भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुपर्ने बताए ।

दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेशसिंह ठगुन्नाले तार नकाट्न स्थानीयले हारगुहार गर्दा पनि एसएसबीका जवानले नमानेको भन्दै भारतीय प्रवृत्तिको विरोध गरे । ‘यो जघन्य र मानवताविरोधी घटना हो,’ उनले भने । एमालेकी विमला विश्वकर्माले प्रधानमनन्त्री र गृहमन्त्रीको तहबाट भारतसँग कुराकानी गर्नुपर्ने बताइन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले स्थानीय प्रशासनलाई पठाएको पत्रमा एसएसबीले तुइन नकाटेको तर गस्तीमा गएको स्विकारेको बताए । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भारतको हेपाहा प्रवृत्ति अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।

गृहमन्त्री बालकृष्ण खाँणले घटनाको निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने बताए । सांसदहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले गठन गरेको समितिले दिएको प्रतिवेदनका आधारमा जुनसुकै कदम चाल्न तयार रहेको उल्लेख गरे । तुइन तरेका र तर्न नसकेकाहरूसँग छलफल गरेर वास्तविकता पत्ता लगाउने खाँणको भनाइ थियो । स्थानीय सरोकारवालाकै भनाइलाई आधार बनाएर प्रतिवेदन तयार हुने पनि उनले बताए । कान्तिपुर दैनिकमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img