धनगढीः दार्चुलामा तुइन घटनाको छानबिनका लागि घटनास्थल मालघाट पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। गृहको छानबिन टोलीले घटनास्थल जाँदा आरोपित भारतीय सुरक्षा बल (एसएसबी)लाई पनि सँगै लगेपछि विरोध हुन थालेको हो। एसएसबीले तुइन फुस्काइदिएपछि व्यासका जयसिंह धामी बेपत्ता भएको प्रत्यक्षदर्शी र स्थानीयले बताउँदै आएका छन्।
दार्चुलाका पत्रकार नरेन्द्र कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘पत्रकारलाई समेत घटनास्थलमा जान रोक लगाएर स्थलगत निरीक्षण गरियो। जसले अपराध कर्म गरे उसैको सहयोगमा छानबिन गरियो।’ घटनास्थल जाँदा गृहको टोलीलाई एसएसबीले नै खाजा खुवाएको स्रोतले बताएको छ। आरोपितलाई सँगै लगेर गरिएको छानबिनले सत्यतथ्य आउला भन्न आश नरहेको स्थानीयहरु बताउँछन्। यस्तो छानबिनको अर्थ नरहेको उनीहरुको भनाइ छ।
भारतीय एसएसबीकै निगरानीमा गृहको टोली घटनास्थल पुगेर जिल्ला सदरमुकाम पुगेको बताइएको छ। घटनाको छानबिन गर्न भारतको बाटो भएर गएको गृह मन्त्रालयको टोलीविरुद्ध घटनास्थलमा नाराबाजी पनि भएको थियो। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोलीमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन्।
छानबिन टोलीबाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्ट पनि घटनास्थल पुगेका थिए। टोलीसँगै भारतको डिडीहाटका भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुईजना एसएसबीका अधिकारी पनि घटनास्थलमा गएका थिए। एसएसबीको टोलीलाई किन लगियो भनेर सहायक प्रजिअ जोशीसँग प्रतिक्रया माग्दा उनले सहजीकरणका लागि लगेको बताइन्।
गत साउन १५ मा व्याँस गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। तुइनबाट नदी तर्ने क्रममा एसएसबीले तुइनको तार फुकालिदिँदा उनी बेपत्ता भएको स्थानीयले बताउँदै आएका छन्।
तार नै छैन
घटनास्थल पुगेको छानबिन टोलीले तुइन बाँधिएको रुखको निरीक्षण गरेर नापजाँच लिएको छ। यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्।
महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ रुख छ। तर दुवैतर्फ तार नै छैन। रुखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन्। महाकाली नदी तुइन बाँधिकएको दूरी ४५ मिटर छ। छानबिन टोली घटना भएको ठाउँबाटै फर्किएको जोशीले बताईन्।