spot_img

नाका नखुल्दा गुम्यो आम्दानी

spot_img

मुगु — कोरोना महामारीका कारण चिनियाँ नाका नखुल्दा सीमावासीलाई सास्ती भएको छ । नाका बन्द हुँदा चीनसँग व्यापार व्यवसायमा समस्या भएको मात्र छैन, स्थानीयले रोजगारीका अवसरसमेत गुमाएका छन् । नाका बन्दले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा पर्यटन व्यवसाय ठप्प छ । उत्पादन न्यून हुने भएकाले हुम्ला र मुगुस्थित सीमा क्षेत्रका बासिन्दाले चीनबाटै खाद्यान्न र दैनिक उपभोग्य सामग्री खरिद गर्नुपरेको छ । नाका बन्द हुँदा व्यापार व्यवसाय उठ्नै नसकिने गरी थलिएको व्यवसायी रिन्जिन लामाले बताए । गाउँपालिकाका बासिन्दा काम र व्यापारका लागि अन्यत्र गए पनि नाम्खाका स्थानीयको रोजगारी र व्यापार चीनको ताक्लाकोटमै निर्भर छ । स्थानीयहरू हिल्सा नाका हुँदै ताक्लाकोट जान्छन् । ‘नाका बन्द भएपछि स्थानीयलाई जीविकोपार्जनमा पनि समस्या छ,’ उनले भने, ‘नाका नखुल्दा सयौं युवा बेरोजगार छन्, जडीबुटीको व्यापार ठप्प छ ।’

गाउँमा रोजगारी नपाइएपछि युवालाई घरखर्च धान्न समस्या भएको लामाले बताए । ‘पर्यटन व्यवसाय पनि चौपट छ,’ उनले भने, ‘चीन हुँदै हुम्ला आउने पर्यटकको संख्या दुई वर्षयता शून्य छ ।’ प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा टाढाबाठा र दलका कार्यकर्ताले मात्र अवसर पाएका कारण प्रायः युवा बेरोजगार बन्नुपरेको उनले गुनासो गरे । सीमा नाका खोल्न विभिन्न निकायलाई पटकपटक आग्रह गरिए पनि बेवास्ता भएको उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । ‘हुम्लाका बासिन्दा धेरैजसो कुरामा चीनसँगै निर्भर छौं,’ उनले भने, ‘नाका बन्द हुँदा ताक्लाकोट र हिल्सामा आर्थिक कारोबार शून्य छ ।’

वैशाखदेखि असोजसम्मको समय हुम्लामा पर्यटक आउने र ताक्लाकोटमा व्यापार गर्ने सिजन हो । मानसरोवर कैलाश दर्शन गर्ने समय यही भए पनि नाका नखुल्दा भारतीय पर्यटक आउन नसकेको स्थानीय कर्मातुन्डुप लामाले जानकारी दिए । ‘हरेक वर्ष हुम्लाका बेरोजगार युवा रोजगारीका लागि ताक्लाकोटमा जाने गर्थे,’ उनले भने, ‘दुई वर्षदेखि नाका बन्द हुँदा उनीहरूको आम्दानीमा असर परेको छ ।’

दुई देशको मित्रता कायम गर्न पनि नाका खुलाउनुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । नाका बन्द हुँदा दुई देशका प्रतिनिधिबीच दुई वर्षयता सीमा वार्तासमेत हुन नसकेको उनले बताए । नाका बन्द हुँदा बर्सेनि झन्डै चार हजार हुम्ली युवाको रोजगार खोसिएको उनको भनाइ छ । ताक्लाकोट गएका युवाले बर्सेनि १५ देखि २० करोड रुपैयाँ भित्र्याउने गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । नाका बन्द हुँदा हिल्सामा स्थापित भन्सार तथा अध्यागमन काकार्यालयसमेत बन्द भएको आचार्य बताउँछन् । हिल्सामा अहिले सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी मात्र छन् ।

हाटबजार अनिश्चित

चीनले नाका नखोलेपछि मुगु सीमाको हयाजिमारमा बर्सेनि लाग्दै आएको हाटबजार अनिश्चित बनेको छ । स्थानीयले सीमामा लाग्ने अस्थायी हाटबजारमा यार्चालगायत जडीबुटी बिक्री गरी वर्षभरि चाहिने खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामान ल्याउने गरेका थिए । तिब्बत सरकारले बर्सेनि नेपाल–चीन सीमाको हयाजिमारमा १५ दिने अस्थायी हाटबजार लगाउने गरेको थियो ।

महामारीका कारण हाटबजार अनिश्चित बनेपछि मुगुमकार्मारोङ गाउँपालिकाको मुगु, चितै, दाउरा, पूलु, माग्री, मह, कार्तिक, किम्री, डोल्फु, पुलु, रिउसलगायत गाउँबस्तीका बासिन्दा चिन्तित छन् । ‘कोरोनाका कारण पाटनको यार्चा पाटनमै कुहियो,’ महगाउँका छिरिङतोर्चे लामाले भने, ‘चौरी लिएर सामान किन्न भोट नगएको पनि दुई वर्ष बित्यो ।’ भोटतिर बिक्री गर्न भनेर घरमा तयार जौ, सातु, उवा र केही जडीबुटी खेर गएको उनको गुनासो छ । कान्तिपुर दैनिकमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img