काठमाडौं उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ भने निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।
सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् । साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु गर्ने सरकारको तयारी छ ।तर राजधानी काठमाडौँसहित देशका केही भागमा कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यसको जोखिम कम नभएको विज्ञहरूले बताउँदै आएका छन् । काठमाडौँस्थित प्रहरी मुख्यालयमा ७२ जना प्रहरीलाई सङ्क्रमण भएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखामा २ जनामा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपीसहित ३ सय ७५ प्रहरी क्वारेन्टिनमा बसेका छन् । पहिलेभन्दा काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईं फेरि लकडाउन हुने हल्ला चले पनि लकडाउन गर्ने सम्भावना नभएको बताउँछन् । उनले लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा नागरिको हातमा रहेको बताउँछन् । उनले मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाउने हो भने सङ्क्रमणको दर कम हुने र लकडाउन नहुने बताए ।