काठमाडाैँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शनिबारबाट सुरु हुने भएको छ।आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहालको राजनीतिक तथा सांगठानिक प्रतिवेदन आउनेछ।माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने भएको छ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन्।शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन्।
सरकारलाई सफल बनाउनका लागि अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनु भएको छ,’ उनले भने।