‘भाइरल’ अर्थात् चर्चाको माध्यम बनेको छ सामाजिक सञ्जाल । अझ कला क्षेत्रमा त ‘भाइरल’ नौलो विषय नै होइन । भाइरल हुनु कतिपयका सुखदायक भएको छ भने कतिपयका लागि यो पीडादायी पनि बन्ने गरेको छ । सकारात्मक विषयमा भाइरल हुँदा मानिस खुसी हुन्छ भने नकारात्मक विषयसँग जोडिएर भाइरल हुँदा मानिसले पीडा महसुस गर्दछ ।नेपाली संगीतिक क्षेत्रकै कुरा गर्ने हो भने बालगायक गायिका प्रेम परियार, कमला घिमिरेलगायतका लागि भाइरल सुखदायक भएको छ । एकपटक भाइरल भएकै कारण यी कलाकारको जीवनमा ठुलै परिवर्तन ल्याइदिएको छ ।
पछिल्लो समयका हिट गायक दुर्गेश थापाको जीवन नियाल्ने हो भने यो भाइरल सुख र दुःख दुवैको कारण बन्न पुगेको छ ।गतवर्षको तीजमा ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर एकाएक भाइरल भएका थिए दुर्गेश थापा । रातारात भाइरल हुँदा उनलाई नाम र दाम मिल्यो नै, यो क्षेत्रमा समेत दर्बिलो पाइला गाड्न उनी सफल भए ।
‘बिच्च बिच्च’मा गीतको केही महिनापछि उनले अर्काे गीत ल्याए ‘डन आयो डन..’ । यो गीतमा प्रयोग गरेका शब्दहरुको चौतर्फी आलोचना भयो । आलोचनाको कारणले नै सही, गीत रातारात हिट भयो र उनी फेरि भाइरल हुन पुगे । गीत भाइरल हुनु भनेको युट्युबमा गीतले धेरै दर्शक पाउनु पनि हो । गीतको चर्चासँगै आम्दानी पनि राम्रो भएका कारण दुर्गेश खुसी थिए ।
यता गीतको विवाद बढ्दै गएपछि प्रहरीले उनलाई पक्राउ समेत गर्यो । युट्युबबाटै गीत हटाउन लगाइयो र उनी छुटे । विवादित शब्दहरु झिकेर उक्त गीत उनले फेरि ल्याए । गीतबाट के हटेछ त भनेर दर्शकले फेरि गीत हेरे । अर्थात् शब्दहरु संशोधन गरेर दोस्रो पटक ल्याइएको गीत पनि हिट नै भयो । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै दुर्गेशले अहिले दुईवटा गीत ल्याएका छन् । एक महिनाभित्रै ल्याइएका दुई गीत ‘बिच्च बिच्चमा २’ र ‘बिच्च बिच्चमा ३’ दुवै यतिखेर भाइरलजस्तै छन् । जसका कारण गीतले राम्रो ‘भ्यूज’ पाइरहेको छ ।
यी दुईमध्ये पनि ‘बिच्च बिच्चमा–३’ गीतको म्युजिक भिडियो केही दिन अगाडि भाइरल भयो । भाइरल हुनुको कारण बनेको थियो दुर्गेशसहितका केही पुरुष कलाकारहरु साडी लगाएर महिलाको भेषमा भिडियोमा प्रस्तुत हुनु ।
यो प्रयोगलाई धेरैले महिलाहरुको अपमान भएको भनेर आलोचना र गाली गरे । ‘ट्रोलर’ले समेत उनलाई निशाना बनाए ।
तर, यो भाइरल पनि उनको लागि सुखद कारण बन्यो । यसका कारणले उनको गीतको भिडियोको चर्चा भयो र भिडियोले युट्युबमा राम्रो दर्शक पाइरहेको छ ।
हिजोआज पनि दुर्गेश भाइरल छन् । एक टेलिभिजन अन्तरवार्ताका कारण उनी अहिले भाइरल भएका हुन् । यो पटक भएको भाइरल भने दुर्गेशका लागि सुखद हुन सकिरहेको छैन ।
ऋषि धमलासँगको एक अन्तर्वार्ताका कारण उनी ‘ट्रोलर’देखि सर्वसाधारणको निशानामा परिरहेका छन् । यसैका कारण उनलाई सामाजिक सञ्जालमा सहकर्मीदेखि सर्वसाधारणसम्मबाट गालीको वर्षा भइरहेको छ ।
अन्तर्वार्तामा दुर्गेशले स्वर सम्राट नारायण गोपालको गीत भन्दै गाएको भक्तराज आचार्यको ‘मुटु जलिरहेछ..’ र यम बरालको भन्दै गाएको रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल..’ गीत र गायन शैलीले उनको संगीतप्रतिको ज्ञानमा त प्रश्न उठेको छ नै, कतिपयले देश–विदेशका कलाकारको समेत ज्ञान राख्नुपर्ने कलाकारमा आफ्नै क्षेत्रको ज्ञान नभएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाइरहेका छन् ।
उनको कारणले अहिले पुरै सांगीतिक क्षेत्र लज्जित हुनु परेको चर्चासमेत गर्न थालिएको छ ।