प्रदेश, २ का प्रदेश प्रमुखमा नियुक्त भएका हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । बुधबार दिउँसो ४ बजे प्रदेश प्रमुखका सचिवसहित कर्मचारीहरुले प्रदेश प्रमुखलाई पदभार ग्रहण गराएका हुन् । मंगलबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले मिश्रलाई पद तथा गोपनियताको शपथ खुवाएकी थिइन् ।पदभार ग्रहण समारोहमा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवपनि सहभागि थिए । प्रदेश प्रमुख मिश्रलाई स्वागत गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु जनकपुरधामस्थित विमानस्थलमा पुगेका थिए । नवनियुक्त प्रदेश प्रमुख महोत्तरी पिपरा गाउँपालिका निवासी हुन् ।
यसबीच, पदमुक्त भएका निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा अहिराजले प्रदेश प्रमुख निवास खालि गरेका छन् । बुधवार बिहानै प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले सरकारी निवास छाडेका हुन् । आफ्नो पर्सलन कारमा आफैले चलाएर उनी मधेश भवनबाट विदा भएका हुन् । आफुले पाँच महिना २४ दिन प्रदेश प्रमुखको रुपमा काम गरेको र कामको क्रममा आफुहरुलाई सहयोग गर्ने प्रदेशवासी, प्रदेश सरकार तथा कर्मचारीहरुलाई धन्यवाद दिए ।
शिरमा नेपाल मनमा मधेश राखेर आफुले क्षमताले भ्याए सम्म उत्कृष्ठ कार्यको प्रयास गरेको उनले बताए । प्रदेश २ अभाव, अपराध र अतिवादको चपेटामा परेको तर देशभक्तिको सवालमा बलियो रहेको उनको भनाई थियो । सीमा सुरक्षा, देशभक्त, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताको विषय नरहेको कुरा नागरिक र सरोकारबालालाई प्रष्ट्याउँदै जान अहिलेको आवश्यकता रहेको उनले बताए ।‘विभेदको विरूद्धमा लड्नेहरूले नै विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय रहेको भन्दै उनले भने, प्रदेश २ सरकार अझै समावेश हुन सकेको छैन,‘ प्रदेश २ मा हरेक जात जाती धर्म, वर्गका व्यक्तिहको बसोवास छ, त्यसकारण यि विविधतामा एकता खोज्नु अहिलेको आवश्यकता छ ।