डाेल्पाका स्थानीय तहमा मात्रै करिव १९ कराेड बेरूजुः त्रिपुरासुन्दरीमा सबैभन्दा धेरै र जगदुल्लामा सबैभन्दा कम बेरूजु । ( प्रतिवेदन अंससहित )
डाेल्पा, डाेल्पा जिल्लाका स्थानीय तहमा मात्रै १८ कराेड,४५ लाख,७१ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा डाेल्पाका ८ स्थानीय तहमध्ये ठूलीभेरी नगरपालिकाको लेखापरीक्षण बक्यौता रहेको जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिका र अन्य ६ गाउँपालिकाकाे बेरूजु रकम चिन्ता जनक छ ।
महालेखाकाे प्रतिवेदन अनुसार डाेल्पामा सबैभन्दा धेरै त्रिपुरासुन्दरी नगरपालिकामा ६ कराेड ८३ लाख ९९ हजार बेरूजु सहित पहिलाे नम्वरमा देखिएकाे छ,बेरूजु प्रतिशत भने ७.६० रहेकेा छ । यस्तै दाेस्राे नम्वरमा काइके गाउँपालिकाकाे ४ कराेड ३३ लाख ५१ हजार बेरूजु छ भने प्रतिशतमा सबैभन्दा धेरै ८.३४ रहेकाे छ । यस्तै मुड्केचुला गाउँपालिकाकाे २ कराेड ५२ लाख २३ हजार बेरूजु अर्थात ४.७२ प्रतिशत रहेकाे छ ।प्रतिवेदन हेर्दा डाेल्पामा ३ स्थानीय तहकाे अवस्था चिन्ताजनक छ ।
डाेल्पाेबुद्द गाउँपालिकाकाे १ कराेड ९४ लाख ९ हजार रूपैयाँ अर्थात ६.१२ प्रतिशत बेरूजु देखिएकाे छ । शे-फाेक्सुण्डाे गाउँपालिकाकाे १ कराेड २६ लाख ३१ हजार अर्थात २.७६ प्रतिशत रहेकाे छ । छार्का ताङसाेङ गाउँपालिका ९२ लाख ८४ हजार अर्थात २.६५ प्रतिशत बेरूजु रहेकाे छ । सबैभन्दा कम जगदुल्ला गाउँपालिकाकाे जम्मा ६२ लाख ७४ हजार अर्थात १.३० प्रतिशत बेरूजु छ ।
कर्णालीका स्थानीय तहमा ३ अर्ब २६ करोड रुपैयाँ बेरुजु रहेको पाइएको छ कर्णालीका ५० गाउँपालिका र २३ नगरपालिकाको लेखापरीक्षण गरेको महालेखाले नगरपालिकाको मात्रै १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ बेरुजु रकम (पेश्कीसमेत) रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
विगतमा कानुनविपरीत भएको खर्च सरकारी निकायहरूले फछ्र्यौट गर्न नसक्दा बेरुजु अंक बढी देखिएको हो । विगतदेखि नै स्थानीय तहले गर्ने कानुनविपरीतको खर्च पनि बढ्दो भएकाले पनि यस्तो अवस्था आएको महालेखाको ठहर छ । स्थानीय तहले बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन, सोझै खरिद, विल भरपाइलगायत विषय सुधार नगरेको प्रतिवेदनमा जनाइएको छ ।