काठमाडौं, नेपाली कांग्रेसका नेता गगन थापाले क्रियाशील सदस्यता अविलम्ब सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिहरुको माग जायज भएको बताएका छन् । उनले क्रियाशील सदस्यताबारे सबैले थाहा पाउनुपर्नेमा जोड दिँदै सार्वजनिक नगरी एकैपटक अधिवेशनमा जाँदा समस्या हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।
मंगलबार पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा सहभागी हुँदै नेता थापाले क्रियाशील सदस्यताबारे उठेका प्रश्नको सम्बोधन गर्न सार्वजनिक गर्नुपर्ने बताए । ‘कतिपय जिल्लामा नियतवस क्रियाशील सदस्यता छुटाइएको छ, कतिपयको भुलवस छुटेको छ । त्यो सबै थाहा पाउनुपर्छ,’ उनले भने, ‘क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्छ भन्ने कुरामा मेरो ऐक्यवद्धता छ । यसबारेमा पार्टी सभापति र पदाधिकारीहरुलाई पनि भन्छु ।’
उनले अधिवेशनमा सहभागी हुन गाउँमा जाँदै गर्दा क्रियाशील सदस्यताबारे जानकारी पाउनुपर्नेमा जोड दिए । ‘देशभरका साथीहरु पार्टी अधिवेशनमा सहभागी हुन जाँदै गर्दा मलाई अन्याय भयो, विभेद भयो भन्ने अवस्था नआओस् । र, यो नगरी एकैपटक निर्वाचन समितिमार्फत अधिवेशनमा गयौं भने वडा–वडामा समस्या आउन सक्छ । भोलि अप्ठ्यारो आउन नदिन हामी आज सजग हुनैपर्छ ।’
कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले केन्द्रबाटै क्रियाशील सदस्यको नाम थप्ने काम भइरहेको बताए । ‘वडा, क्षेत्रबाट इन्ट्री नभएका नामहरु केन्द्रबाट समावेश गर्ने काम भएको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुको क्रियाशील सदर गरिएको छ भने आधिकारिकलाई सदस्यता दिने काम भएको छ । यसलाई हामी स्वीकार गर्न सक्दैनौं ।’ कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समायोजनको विवाद थियो ।
सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले जिल्लाबाट सर्वसम्मत पठाइएको क्रियाशील सदस्यतामा केन्द्रबाट विवाद निकाल्ने काम भएको दाबी गरे । उनले केन्द्रमा विवाद देखाएर सात सय बढी क्रियाशील सदस्यता स्थगन गरिएको बताए । सुर्खेत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला हो ।सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेका छन् ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताए । उनले निर्वाचन समितिमार्फत सदस्यता सार्वजनिक हुने क्रममा रहेको बताए ।