काठमाडाैँ, अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा तीनजनाको ज्यान गएको छ । एकजना बेपत्ता भएका छन् । पाँचजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पोखरा– २० भलाममा र पोखरा– ११ काहुँमा पहिरो जाँदा भलाममा दुईजना र काहुँमा एकजनाको ज्यान गुमेको जानकारी दिए । ज्यान गुमाउनेमा पोखरा– २० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको ज्यान गुमेको हो । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । उनीहरूका तीन वर्षीय छोरा सन्तोष पहिरोमा बेपत्ता छन् । नौ वर्षीय घाइते छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, पोखरा– ११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको ज्यान गुमेको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि डिस्चार्ज भएकी छिन् । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको उनले जानकारी दिए ।
त्यस्तै, पोखरा– ११ बसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरीश घाइते भएका छन् । भलाममा राति करिब ११ बजे घरमाथिबाट आएको पहिरोले श्रेष्ठको घर भत्काएको हो । पहिरो गएको वेला घरमै सुतेका उनीहरूलाई पहिरोले घरसहित बगाएको हो । श्रेष्ठको घरको निसानासमेत देखिएको छैन । श्रेष्ठलाई घरबाट तीन सय मिटर तलबाट उद्धार गरी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही ठाउँबाट मृत अवस्थामा उनकी श्रीमती श्रीमाया तामाङ श्रेष्ठको शव निकालिएको थियो । उनको तीन वर्षीय छोरा सन्तोषको खोजी कार्य जारी छ । उक्त स्थानमा थप पाँच घर पूर्ण रूपमा क्षति पुगेको छ । उक्त स्थानमा रहेको महेन्द्र माविसहित आठवटा घरमा आंशिक क्षति भएको वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए । उनका अनुसार पूर्ण क्षति भएका पाँच घरका परिवारलाई आफन्तकोमा लगिएको छ भने आंशिक क्षति भएका घरमा रहेका मानिस भने घरमै रहेका छन् ।
भलामकै मुलपानीमा अर्को एक घर बगाएको छ । त्यसैगरी, पोखरा– ६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पु¥याएको छ । पहिरो स्थलमा गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापा र पोखरामहानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलगायतले निरीक्षण गर्दै उचित राहतको आश्वासन दिएका छन् ।