काठमाडाैँ , एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएका वेलामा एमसिसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा रावलले राजनीतिक अस्थिरता भएका वेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घरघरमा पु¥याउन लागेको पनि बताए । उनले एमसिसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसका विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्तालाई आह्वान गरे । उनले भने ‘झिलिमिली’ हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशीकरणको बाटोमा पु¥याइँदै छ । नेपाललाई पराधीन बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरूले भारतमा इस्ट इन्डिया कम्पनी खोले त्यो इस्ट इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसिसी । जसरी अस्थिर राजनीति भएका वेलामा अगाडि बढाइयो, आज अस्थिर राजनीति भएका वेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदै छ ।’
एमसिसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्तअनुरूप नभएको उनले बताए । एमसिसीको कतिपय प्रावधानले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनतामाथि हमला गर्ने पनि उनले बताए । एमसिसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनको तर्क छ ।
रावलले सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उल्लेख गरे । उनले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयं प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधीनताको अपमान हुँदा बोल्न नसक्ने मान्छे योग्य नागरिक पनि नहुने टिप्पणी गरे ।
उनले अहिले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर भारतीय हेलिकोप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन रहेकोमा पनि उनले आपत्ति जनाए । राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतामाथि भारतले धावा बोल्दा पनि सरकार चुप लागेको भन्दै उनले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताए ।