काठमाडौँ, सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् । अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताएका हुन् ।सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने अडान पनि दोहो¥याए ।
दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौता अघि बढाउन आफूले चाहेको पनि बताए । उनले भने, ‘यो गठबन्धनलाई तोड्ने षडयन्त्र पनि भइराखेको छ, देशभित्र र बाहिरबाट । यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले गठबन्धनलाई भनेको के छ भने संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्तिको गठबन्धन भनेका छौं । यसलाई विभाजन के गरी गर्ने ? एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि ? एमसीसी भनेर ल्याइ दिएपछि चाँही भनेर एकथरी लागि राख्या छन् । हामी चाँही यथास्थितिमा एमसीसी हुन सकिदैन भनि राछौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर यसको पनि समाधान सकारात्मक ढंगले होस् देशलाई क्षति नहुने ढंगले भन्ने चाहेका छौं । तर अर्को वर्ग चुप लागेर बसेको छैन । ’
अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न र राष्ट्रको रक्षा गर्नका लागि सत्तारुढ गठबन्धन बनाउनु परेको पनि उल्लेख गरे । उनले नेकपा (एमाले) पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी पनि गरे । उनले एमाले नेतृत्वले सूर्य चिन्ह र मदन भण्डारीको दूरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको आरोप लगाए ।
उनले भने, ‘एमाले भन्ने पार्टी त्यहाँ विचार शुन्य छ अहिले । त्यहाँ विचारमा बहस पनि हुँदैन । विचारसँग मतलब पनि छैन । उनीहरुसँग पद प्राप्त गर्ने तरिका छ । राष्ट्रिय अन्तर्राष्ट्रिय साम्राज्यवादीहरुसँग साँठगाँठ गरेर डलर ल्याउने तरिका जान्या छन् । त्यो पैसा खर्च गरेर कसरी गुट बलियो बनाउन सकिन्छ भन्ने जानेका छन् ।