काठमाडौं, बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् ।आगामी असोजमा टी–२० ईपीएलका लागि शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमलाई अनुबन्ध गरेको शनिवार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै श्रीलंकन टोलीका पूर्वकप्तान तथा ओपनर उपल थरंगा र फास्ट बलर धम्मिका प्रसादलाई भैरहवाले अनुबन्ध गरिसकेको छ । श्रीलंकाकै दिनेश चन्डिमाललाई पनि भैरहवाले अनुबन्ध गरेको थियो तर राष्ट्रिय टिममा परेपछि चन्डिमाल ईपीएल खेल्न नआउने भएका छन् ।थरंगा र तमिम अनुबन्ध भएपछि भैरहवाको ओपनिङ जोडी अनुभवी बनेको छ ।३२ वर्षीय बायाँहाते तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशबाट ६४ टेस्ट, २१९ ओडीआई, ७८ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
तमिमसँग २२९ टी–२० खेलको अनुभव समेत छ । तमिम बंगलादेशबाट टेस्ट र ओडीआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् भने उनी टी–२० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् ।२००७ देखि बंगलादेशबाट तमिमले निरन्तर अन्तर्राष्ट्रिय खेल खेल्दै आएका छन् । उनले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७८८ रन बनाएका छन् । टेष्टमा उनको उत्कृष्ट प्रदर्शन २०६ रन छ । यस्तै ओडीआईमा १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६६६ रन बनाएका छन् । ओडीआईमा उनको उत्कृष्ट प्रदर्शन १५८ रन हो ।
तमिमले टी–२० आईमा १ शतक र ७ अर्धशतकसहित १ हजार ७५८ रन बनाएका छन् । उनी बंगलादेशबाट टी–२० आईमा शतक प्रहार गर्ने पहिलो र एक्लो क्रिकेटर हुन् । उनले सन् २०१६ को टी–२० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १०३ रनको अविजित शतकीय इनिङ्स खेल्दै इतिहास रचेका थिए ।तमिलले सन् २०२० मार्चदेखि बंगलादेशको ओडीआई टोलीको कप्तानी सम्हाल्दै आएका छन् । आगामी अक्टोबर–नोभेम्बरमा युएई र ओमानमा हुने आईसीसी टी–२० विश्वकपबाट तमिमले आफ्नो नाम फिर्ता लिएका थिए । त्यसैले तमिम बिनानै बंगलादेशले टी–२० विश्वकप खेल्ने टोली घोषणा गरिसकेको छ ।
चौथो संस्करणको बजाज पल्सर ईपिएल आगामी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोवर ९) सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।शरदको कप्तानीमा भैरहवा पछिल्ला दुई संस्करणको उपविजेता बनेको थियो । २०१८ मा भएको पछिल्लो संस्करणको फाइनलमा भैरहवा ललितपुर प्याट्रियट्ससँग १४ रनले पराजित भएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायेके भैरहवा मुख्य प्रशिक्षकमा छन् ।
घरेलु क्रिकेटका सफल कप्तान शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवामा राष्ट्रिय टिमा युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा युवा स्टार खेलाडीहरु छन् ।यस्तै टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका प्रदीप ऐरी र भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमांशु दत्त स्वदेशी खेलाडीको रुपमा छन् । बाँकी खेलाडी र ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीको नाम सार्वजनिक हुन बाँकी रहेको भैरहवाले जनाएको छ ।