काठमाडाैँ, पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० स्मृति पुलमा नजिकै बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मंगलबार बिहान करिब चार बजेतिर काकँडभित्तादेखि महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको हो भने २४ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी बर्दिया जिल्लाको बासवासी नगरपालिका ८ निवासी ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर निवासी ४० वर्षीया रंगी तिरुवा र कञ्चनपुरकै महेन्द्रनगर झरारी निवासी ३५ वर्षीय कृष्ण रानाको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए । मृतक सबै बसमा सवार हुन् ।
दुर्घटनामा परी ट्रक चालक १ जना र बाँकी बस चालक सहित बसमा सवार रहेका घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, सात जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परी बस सडकदेखि १० फिट तल खसेको थियो । घाइतेहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।